डियर काव्यामा उपासना र विक्की

काठमाडौं । गोल्डेन वल्फ पिक्चर्सको ब्यानरमा निर्माण हुने नयाँ नेपाली फिल्म ‘डियर काव्या’को औपचारिक घोषणा गरिएको छ । बिहीबार बिजेश्वरीस्थित होटल बज्रमा आयोजित कार्यक्रममा ३० फिट लामो पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरिएको हो ।

फिल्ममा उपासना सिंह ठकुरी र बिक्की समशेर खड्का मुख्य भूमिकामा देखिनेछन् । बिक्कीका लागि यो फिल्म डेब्यु हुनेछ । उनी थिएटरका विद्यार्थी हुन् । पोस्टरमा उपासना र बिक्कीलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ । बिक्कीको घाँटीमा रहेको गलबन्दी उपासनाले तान्दै उनलाई नजिक ल्याएको देखिन्छ । पोस्टरको पृष्ठभूमिमा नेपालगन्ज शहरसँगै कर्णाली पुललाई देखाइएको छ ।

फिल्ममा श्रद्धा प्रसाईंको निर्देशन हुनेछ । उनका लागि यो दोस्रो निर्देशकीय चलचित्र हो । यसअघि उनले निर्देशन गरेको ‘ककाकिकी’ प्रदर्शनको तयारीमा छ । यो फिल्मको छायांकन आगामी मंसिरबाट सुरु गर्ने निर्माण पक्षले जनाएको छ ।

फिल्ममा गौरी मल्ल, तृप्ति नाडकर, अनुप बराल, सन्तोष थापा र खड्गबहादुर पुन मगर लगायत कलाकारको अभिनय रहनेछ । फिल्मका निर्माता देवी सिंह र हेमकुमारी भेटुवाल हुन् भने दिया मास्के र सन्दीप दंगोल कार्यकारी निर्माता रहेका छन् ।

लाइन प्रोड्युसर अर्जुन पौडेल हुन् । फिल्मको पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले गर्नेछन् भने मेकअपको जिम्मेवारी प्रिया कार्कीले सम्हाल्नेछिन् ।