हरिवंशबाट पाँच पाण्डवको डबिङ सुरु

काठमाडौं । फिल्म ‘पाँच पाण्डव’को डबिङ सुरु गरिएको छ । म्युजिक नेपालले सञ्चालनमा ल्याएको डल्बी एट्मस साउन्ड स्टुडियोमा गत बिहीबारबाट डबिङको काम सुरु गरिएको हो ।

गौशाला पिंगलास्थानस्थित नेपाल संगीत विद्यालयमा रहेको स्टुडियोमा फिल्मका कास्ट एन्ड क्रूको सहभागिता रहेको थियो । तिहारमा रिलिज हुने फिल्मको डबिङको सुरुवात मुख्य पात्र हरिवंश आचार्यले गरेका थिए ।

“हामीले पोस्टको काम सुरु गरेसँगै स्वरकन गर्न थालेका छौं,” फिल्मका निर्देशक वसन्त निरौलाले भने, “हामीले कुनै पनि कम्प्रमाइज गरेका छैनौँ । हामी दर्शकलाई साउन्डको फरक टेस्टसहितको प्राविधिक रुपमा पनि अब्बल सिनेमा दिने छौँ, जुन फिल्ममा पनि देखिने र महसुस हुने छ ।”

चार दशकदेखि नेपाली संगीतको क्षेत्रमा सक्रिय कम्पनीले ‘म्युजिक नेपाल’ले गत वर्षको माघदेखि करिब १० करोड रूपैयाँको लगानीमा मुलुकमा पहिलोपटक डल्बी एट्मसद्वारा मान्यताप्राप्त पोस्ट(प्रोडक्सन स्टुडियो सञ्चालनमा ल्याएको छ ।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला, दीपाश्री निरौला, सरिता गिरी, बिनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, मोडल इभा गिरी, सिता न्यौपानेलगायतको अभिनय छ ।

फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् । उनले यसअघि गतवर्ष ‘लाज शरणम्’ निर्माण गरेका थिए । फिल्मको निर्मातामा काली रानी श्रेष्ठ छिन् ।

फिल्ममा कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको छ । झापा र काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूमा खिचिएको फिल्ममा श्याम तामाङको छायांकन छ । फिल्मको वितरण रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले गर्नेछ ।