तीजलाई यशोदाको माइतीघरको सम्झना बोकेर

काठमाडौं । गायिका त्रय यशोदा पराजुली, झुमा निरौला र सरिता शाहीको स्वरमा रहेको तीज गीत ‘माइतीघरको सम्झना बोकेर’ सार्वजनिक भएको छ । यशोदा र गणेश पराजुली प्रस्तुत गीतको भिडियोमा समन अधिकारीको निर्देशन छ । ज्ञानेन्द्र गदालको शब्द रहेको गीतमा गणेश पराजुलीको संगीत र बलराम समालको मिक्सिङ छ ।

गीतको भिडियोमा अभिनेत्री शर्मिला मल्लको अभिनय रहेको छ । गीतले विशेषतः माइतीघर सम्झिने चेलीको भावनालाई प्रस्तुत गरेको छ । तीजको माहोल, दर खाने रमाइलो, दिदीबहिनीको जमघट र माइतीघर पुग्दाको खुसीलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ । आफ्नो गच्छेअनुसार रमाउने र ऋण गरेर वा अरूलाई देखाउनकै लागि खर्च नगर्ने संस्कारतर्फ पनि गीतले ध्यानाकर्षण गराएको छ ।

सुरेश पाण्डेको कोरियोग्राफी रहेको गीतमा नवराज रिजालको नृत्य समूहको कोरस छ । भिडियोमा शर्मिलासँगै कविता थामी र ज्योति खड्कालाई पनि देख्न सकिन्छ । हरि ढकालको छायांकन रहेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन र कलर ग्रेडिङ छ । गीतको भिडियो गणेश यशोदा पराजुली अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।