काठमाडौं । गायक तथा सङ्गीतकार प्रकाश सिलवालको नयाँ गीत ‘पारिजात’ सार्वजनिक भएको छ । गीतको भिडियोमा अभिनेता गौरव विष्ट र अभिनेत्री खुसी कार्की फिचर्ड छन् । प्रेमील भाव व्यक्त गर्ने गीतको भिडिओमा एकतर्फी प्रेमलाई देखाइएको छ । भिडियोमा शान बस्न्यातको पटकथा र निर्माण छ ।
भिडियोलाई गायक प्रकाश सिलवालकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । अस्मिता रुचालको शब्दमा गायक प्रकाश सिलवालको स्वर र सङ्गीत छ ।
गायक प्रकाशले गीतका बारेमा भने, ‘यो गीत प्रेमिल र सरल छ । एउटा केटाले आफ्नो मन परेको मान्छेका लागि आफुमा ल्याउने बदलावसँगै अव्यक्त भावनालाई गीतमा प्रस्तुत गरेका छौँ । प्रेम गर्नेलाई यसले ‘कनेक्ट’ गर्छ भन्नेमा विश्वस्त छौँ ।’
घामपानी पिक्चर्स प्रोडक्सनले तयार गरेको भिडिओका निर्माता कथाकार शान बस्न्यात हुन् । उनले नै भिडिओको कथा तथा पटकथा तयार गरेका हुन् । यसमा गौरव र खुसीसँगै सहयोग अधिकारी, विनोद पौडेल, गीता श्री, विशाल लामा (चरी), युवक लामा (घाइते), कमला राई, कृषा श्रेष्ठ, सुष्मा तामाङ, देव न्यौपाने, सुजाता तिमल्सिना लगायतले अभिनय गरेका छन् ।
निर्देशक प्रणव केसीको निर्देशनमा तयार भएको भिडिओमा डीओपी संगम राई, स्टाइलिस्ट अञ्जली रिजाल, मेकअप ज्योति केसी, हेयर अलिजा सिजावाल, साउण्ड देव न्यौपानेको रहेको छ ।





