पार्वतीलाई सबै उमेरकाले हेर्न सेन्सरले दियो अनुमति

काठमाडौँ । नायिका नीता ढुङ्गानाको निर्देशनमा निर्माण भएको फिल्म ‘पार्वती’ले फिल्म सेन्सर बोर्डबाट ‘युनिभर्सल’सर्टिफिकेट प्राप्त गरेको छ। यो सर्टिफिकेटसँगै अब सबै उमेर समूहका दर्शकले परिवारसहित सिनेमा हलमा गएर फिल्म हेर्न पाउनेछन्।

फिल्म आगामी भदौ १२ गतेदेखि देशभरका फिल्म हलमा प्रदर्शनमा आउँदैछ । निर्देशक नीताले ‘पार्वती’ सानोदेखि हजुरबुबा–हजुरआमासम्म सबैले हेर्न मिल्ने भएकोले ‘माया, भावना र पारिवारिक सम्बन्धले भरिएको फिल्म हेर्न आग्रह गरिन् ।

अटिजम भएकी दिदी र भाइबीचको कसिलो माया र स्नेहको कथामा बनेको यस फिल्ममा नीता ढुङ्गाना र अशोक दर्जी मुख्य भूमिकामा छन्। उनीहरूका साथमा दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल, र दिप्त प्रकाश अधिकारी लगायतका कलाकारको अभिनय रहेको छ।

फिल्मको कथा तथा पटकथा स्वयं निर्देशक नीता ढुङ्गानाले तयार पारेकी हुन् भने डाइलग र स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन्। सुदीप बरालको छायांकन र रामजी लामिछानेको नृत्य निर्देशन रहेको फिल्ममा साहिल खानको सम्पादन छ ।

हरिहर अधिकारी निर्माता रहेको यस फिल्मका कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजर शंकर पाण्डे हुन्।