पेन्सन पट्टा ट्रेलरमा अनेक खोजी

काठमाडौं । लाहुरे जीवनलाई बाहिरबाट हेर्दा पेन्सन, प्रतिष्ठा र सुख–सुविधासँग जोडेर बुझिए पनि यही जीवनशैलीसँग गाँसिएका पारिवारिक उतारचढाव, सम्बन्धका जटिलता र भावनात्मक पीडाको गहिराईलाई प्रस्तुत गरिएको फिल्म ‘पेन्सन पट्टा’ को ट्रेलर सार्वजनिक भएको छ । माओत्से गुरुङको निर्देशन तथा दयाहाङ राईको मुख्य अभिनय रहेको फिल्मको ट्रेलर मंगलबार काठमाडौंमा सार्वजनिक गरियो ।

ट्रेलरमा दिवंगत बाबुको पेन्सनपट्टामा आमाको नाम नभई बाबुकी पहिलो पत्नीको नाम रहेको प्रसंगबाट कथा अघि बढेको देखिन्छ । परिवारमा वर्षौंदेखि चर्चा र स्मरणबाटै ओझेलमा रहेकी जेठी आमाको खोजीमा निस्कने पात्रले केवल एउटा व्यक्तिको खोजी गर्दैन, बरु लाहुरे परम्पराले परिवार, सम्बन्ध र समाजमा पारेको प्रभावको तह खोल्दै जान्छ ।

भदौ २६ गतेदेखि दर्शकमाझ आउने फिल्मले लाहुरे जीवनको चमकभन्दा पर रहेको भावनात्मक र सामाजिक पाटोलाई पर्दामा ल्याउने अपेक्षा गरिएको छ। फिल्मको ट्रेलर ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको छ ।

फिल्ममा दयाहाङ राईसँगै गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, पुष्कर बहादुर गुरुङ, स्वर्गीय सुनील थापा, लुनीभा तुलाधर, सुरज तामु, राज कौछा मगर, यासिली योख्खा, डिबी गुरुङ, प्रतिच्छ्या गुरुङ, सोल गुरुङ, अनुषा राई, मनोज गुरुङ, मनिका गुरुङ र कुबिना गुरुङको अभिनय रहेको छ ।

मीन कोन्मे गुरुङ (सिकलेस), भोज बहादुर गुरुङ (यूके), माया गुरुङ र सपना गुरुङले निर्माण गरेको फिल्ममा डिबी गुरुङ प्रोडक्सन म्यानेजरका रूपमा छन् । सुशन प्रजापतिले छायांकन तथा सुरज तामुले कास्टिङ निर्देशन गरेका छन् ।