काठमाडौं । प्रवेश पौडेलको निर्देशनमा बन्न लागेको फिल्म ‘मायालु’मा अभिनेत्री आकृति बुढाथोकी अनुबन्धित भएकी छन् । निर्देशक पौडेलले फिल्मको मुख्य भूमिकामा अभिनेत्री आकृति अनुबन्धित गरिएको जानकारी दिएका हुन् ।
निर्देशक पौडेलले यसअघि ‘अमेरिका बोइज’ र ‘बिहे पास’ निर्देशन गरेका थिए । ‘मायालु’ उनको तेस्रो निर्देशकीय फिचर फिल्म हुनेछ । यो फिल्मको घोषणा गर्दा नाम ‘मेरो अधुरो प्रेम’राखिएको थियो । हाललाई यो नाम होल्ड गर्दै ‘मायालु’ को काम अघि बढाइएको हो । मायालु’ प्रदर्शनपश्चात ‘मेरो अधुरो प्रेम’को नाममा पनि फिल्म बनाइने निर्देशक पौडेलले बताए ।
आकृतिको यो दोस्रो सिनेमा हो । यसअघि उनले ‘मुक्तिपुर’मा अभिनय गरेकी छन् । ‘मुक्तिपुर’ प्रदर्शन भएको छैन । नाट्य क्षेत्रबाट अभिनय यात्रा सुरु गरेकी बुढाथोकी मोडलसमेत हुन् । ‘मायालु’मा उनी मुख्य भूमिकामा देखिनेछिन् ।
मुख्य अभिनेत्रीका रूपमा आकृति फाइनल भएसँगै सिनेमाका लागि सहायक अभिनेत्रीको खोजी भइरहेको निर्देशक पौडेलले बताए । यसअघि नै फिल्मको मुख्य अभिनेताका कबीर खड्का अनुबन्धित भइसकेका छन् । निर्देशक पौडेलका अनुसार ‘मायालु’ त्रिकोणात्मक प्रेम कथामा आधारित हुनेछ । निर्देशक पौडेलकै कथा रहेको सिनेमाको पटकथा अनिल कुर्मीको पटकथा रहनेछ ।
फिल्मको छायांकन अस्ट्रेलिया र नेपालमा हुनेछ । अस्ट्रेलियाबाट नै सिनेमाको छायांकन सुरु हुनेछ । फिल्मको छायांकन दशैंपछि सुरु हुने निर्माण पक्षको भनाई छ । फिल्मको छायांकन शरद महतो गर्नेछन् ।
सितारा र कबीर खड्का फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्ममा सुरेन्द्र रावलको लगानी रहनेछ । फिल्मका सह–निर्माता विवेक पौडेल हुन् ।
शिवाकर प्रसाईं कार्यकारी निर्देशक रहेको फिल्ममा सुनिल निउरे मुख्य सहायक निर्देशक र बम बहादुर थापा एसोसियट निर्देशकका रूपमा जोडिएका छन् । फिल्ममा अनमोल थापाको संगीत रहनेछ ।






