काठमाडौं । फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को मुख्य भूमिकामा कलाकार प्रजल दुलाल अनुबन्धित भएका छन् । फिल्मका निर्देशक बलिराम चौहानले फिल्मको मुख्य भूमिकामा प्रजल दुलाललाई अनुबन्धित गरेका बताएका हुन् । प्रजल अनुबन्धित भएसँगै सिनेमाका मुख्य कलाकारको लाइनअप पुरा भएको निर्देशक चौहानले बताए ।
यसअघि प्रजलले ‘बलिदान’, ‘बिमान’ र ‘अक्षरा’ अभिनय गरिसकेका छन् । हाल उनी ‘तीन तीघ्रे क्या बिग्रे’को काममा व्यस्त छन् । इटहरीमा जन्मिएका प्रजल सानैदेखि रेडियोमा काम गर्थे । रेडियोमा काम गर्दै गर्दा उनले रंगमञ्चको यात्रा सुरु गरे । कलालय इटहरीको स्कुल थिएटरमा गुरु सोनु जयन्तीर प्रज्वल पराजुलीसँग उनले अभिनय सिकेका हुन् ।
उनले कलालय इटहरी, आरोहण गुरुकुल, पश्चिम बंगाल, भारत साथै विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय नाट्य महोत्सवहरूमा करिब दुई दर्जन भन्दा बढी नाटकमा अभिनय, लेखन र निर्देशन गरिसकेका छन् भने दर्जनौ सर्ट सिनेमा, म्युजिक भिडियो सिरिज, टिभिसी विज्ञापनमा समेत अभिनय गरिसकेका छन् । त्यससँगै उनले नीर शाह निर्देशित ‘कमला मिस’को पटकथा तथा संवाद लेखनमा नीर शाह र सुगम दुलालसँग सहकार्य गरेका छन् ।
यसअघि नै यो सिनेमाको मुख्य भूमिकामा रिहान गिरी, सन्तोष बानियाँ र जीवनजंग बस्न्यात अनुबन्धित भैसकेका छन् । मुख्य अभिनेत्रीमा गुराँस ढकाल आबद्ध भएकी छन् ।
स्काइफल पिक्चर्सको ब्यानरमा निर्माण हुने सिनेमाले जेनजी पुस्ताको प्रेम, संघर्ष र स्वतन्त्रताको कथा भन्नेछ । विशेषगरी युवापुस्ताको मनोविज्ञान र समसामयिक कथालाई पर्दामा उतार्ने तयारी रहेको निर्देशक चौहानले बताए ।
असोज पहिलो हप्ताबाट फ्लोरमा निस्कने तयारीमा छ । हाल धमाधम प्रि(प्रोडक्सनको काम भैरहेको छ । कथाअनुसार सिनेमाको स्लोगन पनि युवा केन्द्रित ‘हरेक युवाको कथा’ राखिएको छ । सिनेमाको कथा निर्देशक चौहान र उपाश्री खतिवडाले लेखेका हुन् । सिनेमा भोलानाथ कटुवालको लगानीमा बन्नेछ ।






