बाः एक योद्धा ट्रेलरमा बाआमालाई सन्तानको माया र हेला

काठमाडौं । हरि लम्साल निर्देशित फिल्म ‘बाः एक योद्धा’को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण पक्षले शुक्रबार काठमाडौंमा ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलरको केन्द्रमा बुवाको संघर्ष छ । बुवाले सन्तानका लागि गरेको संघर्ष र त्यागको सेरोफेरोमा ट्रेलर घुमेको छ । आफ्नो सन्तानको सुख र खुसीका लागि बुवा जस्तो सुकै त्याग, संघर्ष र बलिदानी दिन तयार हुन्छ भन्ने ट्रेलरले सन्देश दिएको छ ।

फिल्म भदौ १९ गते रिलिज हुँदैछ । फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन् ।

हरि लम्सालको लेखन तथा निर्देशन रहेको फिल्म कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको हो । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका छन् ।

फिल्मका निर्माता वसन्त लम्साल हुन् । अनिल बुढाथोकी कार्यकारी निर्माता रहेको फिल्मका लाइन प्रोड्युसर अर्जुन पौडेल हुने भने सह–निर्माता कृष्ण काफ्ले रहेका छन् । शिवराम श्रेष्ठको छायाकंन रहेको फिल्मको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने छन् । फिल्म आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।