तीजलाई व्यंग्य गर्दै माया भनेकै यस्तै होलाको नक्कल पारी

काठमाडौं । रेखा थापा निर्देशित फिल्म ‘माया भनेकै यस्तो होला’को तीज गीत ‘नक्कल पारी’ सार्वजनिक भएको छ । शान्तिश्री परियार र प्रशान्त शिवाकोटीको स्वर रहेको गीतमा प्रशान्तकै संगीत र सुष्मा सिग्देलको शब्द छ ।

लोक फ्लेबरको गीतमा पछिल्लो समय तीज संस्कृति धान्ने चाडभन्दा पनि देखाउने माध्यम बन्दै गएको यथार्थलाई चित्रण गरेको छ । पहिरन र गहनामा अरुको देखासिकी गर्ने खराव प्रवत्ति हाबी हुँदै गएको वास्तविकतालाई गीतले टपक्क टिपेको छ ।

अरुले जस्तो गहना र लुगा लगायो आफूले पनि ऋणधन गरेर भए पनि त्यस्तै लगाइहाल्नु पर्ने र त्यसका लागि श्रीमानलाई दिने प्रचलनलाई देखाएको गीत डान्सिङ बिटीमा छ । श्रीमानले पनि आफ्नी श्रीमतीले भनेपछि माग पूरा गरिदिने भनेर दिएको वाचा गीतमा सुन्न सकिन्छ ।

फिल्मका मुख्य कलाकार फिचर्ड रहेको भिडियोको कोरियोग्राफी गम्भीर विष्टले गरेका छन् । भिडियोमा दिल श्रेष्ठ, पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाह छमछमी नाचेका छन् ।

‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण भएको फिल्ममा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाह, लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेललगायतको अभिनय रहेको छ ।

फिल्मको निर्मातामा हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ छन् । फिल्म भदौ २६ गतेबाट प्रदर्शनमा आउँदैछ ।