चितवन । नीता ढुंगाना निर्देशित फिल्म ‘पार्वती’ प्रदर्शनको संघारमा छ । भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई लिएर दर्शकमा पनि उत्साह छ ।
प्रदर्शनपूर्व देश दौडाहामा रहेको फिल्म युनिट मंगलबार चितवन आईपुग्यो । चितवनमा भएको पत्रकार सम्मेलनमा फिल्मकी निर्देशक, कथाकार तथा नायिका नीता ढुंगानाले अटिजमको कथा बोकेको फिल्मले दर्शकलाई फरक स्वाद दिने बताईन् । फिल्ममा नीताले अटिमजम भएकी महिलाको पात्र निभाएकी छन् । कलाकार अशोक दर्जी उनको भाईको भूमिकामा छन् ।
नीताले अशोकले निभाएको भाईको चरित्रमा अन्य कलाकारलाई कल्पना नै गर्न नसकिने समेत बताईन् । फिल्म प्रदर्शनपछि दर्शकहरु आँफैले पनि यो बिषय मनन गर्ने उनको विश्वास छ । उनले अटिजम भएकी महिलाको चरित्र निभाउन लामो समय अध्ययन गरेको बताईन् ।
अटिजम आँफैमा संवेदनशिल बिषय भएकोले पनि लामो समय अध्ययन गरेर मात्रै आँफैले आँफैलाई अटिजम भएकी महिला पात्रको रुपमा पर्दामा उतारेको नीताले बताईन् । अटिजम भएकी महिलाको दैनिकीलाई नजिकबाट नियालेरबाट आफूले फिल्म बनाएको उनको भनाइ छ ।
नीताको भाईको भूमिकामा रहेका कलाकार अशोक दर्जीले फिल्म सबैले हेर्नै पर्ने सामाजिक कथा बोकेको चलचित्र भएको बताए । निर्माता हरिहर अधिकारीले फिल्मको टिजर, ट्रेलर र गीतबाट राम्रो प्रतिकृया पाएको बताए । उनले प्रदर्शनपछि चलचित्र कथाले नै सबै कुरा बोल्ने बताए ।
फिल्ममा नीता र अशोकसँगै दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेललगायत कलाकारको अभिनय रहेको छ।






