इन्डियन आइडलको डिजिटल अडिसन

मुम्बई(एजेन्सी) । भारतीय चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल’को १२ औं संस्करण शुरु हुँदैछ । यो शोको पहिलो प्रोमो सार्वजनिक भइसकेको छ । यसअघि निर्णायककै सामुन्ने आफ्नो गायन प्रतिभा प्रस्तुत गर्ने प्रतियोगीहरुका लागि १२ औं संस्करण केही फरक हुँदैछ । यसपटक उनीहरु डिजिटल अडिसन दिँदैछन् । अभिनेता अमिताभ बच्चनले सञ्चालन गर्ने ‘कौन बनेगा करोडपति’ले जस्तै ‘इन्डियन आइडल’ले पनि डिजिटल अडिसनको शैली अपनाउनेछ ।

यो सिजनलाई गायक तथा अभिनेता आदित्य नारायण झाले सञ्चालन गर्नेछन् । शोमा उनको गायन, नृत्य प्रस्तुति पनि रहनेछ । प्रोमोमा आदित्यले सहभागीलाई अघिल्लो संस्करणको जस्तो लामो लाइन लगाएर नबस्नुपर्ने बताएका छन् । प्रतियोगीले घरमा नै भिडियो रेकर्ड गरेर आयोजकलाई पठाउन र त्यसको परिणाम पनि डिजिटल्ली रुपमै जानकारी दिने जनाइएको छ ।

अघिल्लो संस्करणमा विशाल डेडलनी, नेहा कक्कर र हिमेश रेशमियाँ निर्णायक थिए । तर यसपटकको संस्करणमा को निर्णायक हुने भन्ने टुंगो लागिसकेको छैन ।