अमर उजालामा नेपाली अभिनेत्रीको चर्चा

काठमाडौं । भारतको प्रमुख सञ्चारमाध्यम अमर उजालाले आफ्नो अनलाइन संस्करणमा नेपालका ६ अभिनेत्रीहरुको चर्चा गरेको छ । अनलाइनले अभिनेत्रीको परिचयसँगै उनीहरुको डेब्यू र हालसम्म गरेका कामको बारेमा व्याख्या गरेको छ ।

उसले आफ्नो अनलाइनमा नेपालका सुन्दर ६ अभिनेत्री भन्दै साम्राज्ञी राज्यलक्ष्मी शाह, सृष्टि श्रेष्ठ, जसिता गुरुङ, नम्रता श्रेष्ठ, केकी अधिकारी र प्रियंका कार्कीको बारेमा लेखेको छ । अनलाइनमा साम्राज्ञीलाई नेपाली राजघरानामा सम्बन्ध राख्ने अभिनेत्रीका रुपमा चित्रण गरेको छ । सन् २०१६ बाट नेपाली फिल्ममा डेब्यू गरेकी साम्राज्ञीले हालसम्म कैयौं राम्रा फिल्ममा अभिनय गरेर दर्शकको मन जितेको जनाएको छ । अनलाइन समाचारमा साम्राज्ञीले नेपाली राष्ट्रिय फिल्म एवार्ड र एनएफडीसी नेशनल फिल्म एवार्ड पनि जितेको लेखेको छ ।

त्यस्तै पूर्व मिस नेपाल सृष्टि श्रेष्ठलाई अनलाइनले नेपालको प्रख्यात मोडल तथा उत्कृष्ट अभिनेत्री भनेको छ । सन् २०१६ मा नेपाली फिल्ममा पाइला चालेकी सृष्टिले हालसम्म पाँच फिल्ममा अभिनय गरे पनि अनलाइन तीनवटा फिल्ममा मात्र अभिनय गरेको लेखेको छ । त्यस्तै अभिनेत्री जसिता गुरुङलाई नेपाली फिल्मकी आशलाग्दी अभिनेत्रीका रुपमा चित्रण गरेको छ । सन् २०१८ मा नेपाली फिल्ममा आएकी उनले फिल्म ‘लिली बिली’बाट अभिनय यात्रा शुरु गरेकी थिइन् । अभिनेत्री तथा मोडल नम्रता श्रेष्ठलाई नेपाली फिल्ममा लामो समयदेखि सक्रिय अभिनेत्री भनेको छ । उनले सन् २००८ मा फिल्म ‘सानो संसार’बाट आफ्नो अभिनय यात्रा शुरु गरेकी थिइन् ।

अभिनेत्री केकी अधिकारीलाई अनलाइनले दिग्गज अभिनेत्रीको सूचीमा राखेको छ । उनले फिल्मका अलावा म्यूजिक भिडियो र टेलिभिजन विज्ञापनमा पनि काम गरेको उल्लेख गरेको छ । उनले सन् २०११ मा फिल्म ‘स्वर’बाट अभिनयमा पाइला चालेकी थिइन्  त्यस्तै अभिनेत्री प्रियंका कार्कीलाई टेलिभिजन सिरियल, भीजे, डान्सर, कोरियोग्राफर र गायिकाका रुपमा चित्रण गरेको छ । उनले सन् २०१२ मा फिल्म ‘थ्री लभर्स’बाट नेपाली फिल्ममा पाइला चालेको जनाएको छ ।