पाँच पाण्डवलाई सेन्सरको युनिभर्सल सर्टिफिकेट

काठमाडौं । फिल्म ‘पाँच पाण्डव’लाई केन्द्रीय चलचित्र जाँच समिति(सेन्सर बोर्ड)ले युनिभर्सल सर्टिफिकेट दिएको छ । बोर्डले बुधबार बिहान फिल्मलाई युनिभर्सल सर्टिफिकेट प्रदान गरेको हो । युनिभर्सल सर्टिफिकेट पाएसँगै यो सिनेमा जुनसुकै उमेर समूहका दर्शकले हेर्न सक्नेछन् । सपरिवार सँगै बसेर हेर्ने सिनेमा बनेको निर्माणपक्षले बताएको छ ।

भोलि शुक्रबारबाट रिलिज हुने फिल्ममा बसन्त निरौलाको निर्देशन छ । फिल्ममा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला, इभा गिरी, दीपाश्री निरौलालगायतका कलाकारको अभिनय छ ।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने, रितेश पौडेल (रितेशजंग खत्री)को पनि अभिनय छ ।

नविन श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्ममा काली रानी श्रेष्ठ निर्माता छिन् । फिल्ममा कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको छ ।