दर्शकको चासोमा जलाकी जोडी

काठमाडौं । आगामी मंसिर ४ गतेबाट रिलिज हुने फिल्म ‘जलाकी’ को ट्रेलरमा दर्शकको आकर्षण दिनानुदिन बढिरहेको छ । फिल्मको ट्रेलरले सामाजिक सञ्जाल र युट्युबमा दर्शक तथा समीक्षकहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । ट्रेलर युट्युबको मुभिज ट्रेन्डिङ चार्टको छैटौँ स्थानमा परिसकेको छ ।

अधिकांश दर्शकहरूले निर्देशक अशोक थापा मगरको अघिल्लो सुपरहिट फिल्म ‘खुस्मा’ को झल्को पाएको प्रतिक्रिया दिएका छन् । दर्शकले ‘खुस्मा’ जस्तै ‘जलाकी’मा पनि मगर समुदायको मौलिक संस्कृति, ग्रामीण परिवेश र भावनाले भरिएको गहिरो प्रेमकथाको समिश्रण देखिएकाले आफ्ना लागि प्रतिक्षाको फिल्म रहेको प्रतिक्रिया दिएका छन् ।

दर्शकले उपासना सिंह ठकुरी र सोनम तोप्देनको अनस्क्रिन जोडीलाई निकै मनपराएका छन् । उनीहरूबीचको कलेज रोमान्स र केमेस्ट्रीले दर्शक आकर्षित छन् । यही फिल्ममार्फत नेपाली रजतपटमा डेब्यु गरेकी कलाकार सहारा हाङमा लिम्बुको अभिनयको समेत चर्चा छ ।

फिल्ममा उपासना, सोनम, साहारासँगै शिल्पा मास्के, माओत्से गरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, रजनी गरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिन र विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा, रिन्सी धनहा मगरले अभिनय गरेका छन् ।

एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका निर्मातामा ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् । फिल्म गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्नेछ ।