काठमाडौं । फिल्म ‘पाँच पाण्डव’को नयाँ ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले मंगलबार सार्वजनिक गरेको ट्रेलरमा पृथ्वीमा रहेका आफ्ना भाइहरु दुःखी रहेको भन्दै पृथ्वीलोकमा आइपुगेका युधिष्टिर उर्फ हरिवंश आचार्य समस्यामा रहेका भाइहरुलाई त्यसबाट कसरी छुट्कारा दिलाउने भन्नेमा चिन्तित रहेको देखाइएको छ ।
हरिवंश भीम, अर्जुन, सहदेव भन्दै नामाकरण गर्दै आफ्नो चार भाइ बनाइरहेका छन् । ट्रेलरमा हरिवंशलाई अन्याय र विकृतिविरुद्ध उभिएको देखाइएको छ । यही शुक्रबारबाट रिलिज हुने फिल्ममा बसन्त निरौलाको निर्देशन छ । फिल्ममा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिक्देल, सुशील सिटौला, इभा गिरी, दीपाश्री निरौलालगायत कलाकार मुख्य भूमिकामा छन् ।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, सीता न्यौपाने, रितेश पौडेल (रितेशजंग खत्री)को पनि अभिनय छ ।
नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्ममा काली रानी श्रेष्ठ निर्माता छिन् । फिल्ममा कथा, पटकथा तथा संवाद सुशील पौडेलको छ ।







