भलिबलको कथा सम्झाउने बुकीको गीत

काठमाडौं । फिल्म ‘बुकी’को गीत ‘तनमनमा भलिबल’ सार्वजनिक भएको छ । विवश कुमार माझी र मोहन केसीको निर्देशनमा निर्माण भएको फिल्ममा भलिबलकै बारेमा सम्भवतः बनाइएको यो पहिलो नेपाली गीत हो ।

गीतमा मोहन केसीको शब्द, दीपक शर्माको संगीत छ । स्वर प्रमोद खरेल र रचना रिमालको छ । भलिबलका लागि सम्पूर्ण जीवन नै समर्पित गरेको कथामा गीत बनेको छ । भलिबलप्रति खेलाडीले देखाएको समपर्ण, राम्रो खेलाडी बन्न गरेको अभ्यास र प्रतियोगिता तथा भलिबलप्रति रहेको आकर्षणलाई गीतमा प्रस्तुत गरिएको छ ।

भिडियोमा गायक तथा अभिनेता देबेन्द्र बब्लु र अभिनेत्री रोशनी कार्की फिचर्ड छन् । भिडियोमा बाग्लुङको ढोरपाटन र आसपासका सुन्दर क्षेत्रहरूलाई सुन्दर ढंगले खिचिएको छ ।

‘हिमालयन म्युजिकल इभेन्ट म्यानेजमेन्ट एन्ड फिल्मस’को प्रस्तुति रहेको चलचित्र ‘बुकी’मा सुरक्षा पन्त, देबेन्द्र बब्लु र रोशनी कार्की मुख्य भूमिकामा रहँदा प्रकाश घिमिरे, लक्ष्मीनाथ तिमलसिना, घनु जोशी, अनु दाहाल, सन्दिप बाबु लोहनी, निशा बजगाईं लगायतका कलाकारको अभिनय देख्न सकिनेछ ।

फिल्मको छायांकन काठमाडौं, पोखरा र विशेषगरी बाग्लुङको ढोरपाटन लगायतका रमणीय क्षेत्रमा गरिएको छ ।

लक्ष्मण सापकोटा, अमिषा थापा कौचा, रमेश थापा निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा प्रकाश आले र राजन केसी रहेका छन् । राजेश थापा र बसुन्धरा खरेलले ‘क्रिएटिभ प्रोडुसर’ छन् भने जितु थापा र सुनील बुढाथोकी को–प्रोडुसरका रूपमा रहेका छन् ।
विकास गन्दर्भको डिओपी रहेको फिल्ममा भुपेन्द्र अधिकारीको सम्पादन छ ।