पार्वतीकाे अमेरिका र अष्ट्रेलिया अधिकार बिक्री

काठमाडौँ । अभिनेत्री नीता ढुङ्गानाको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्म ‘पार्वती’को अमेरिका र अस्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ । निर्माण पक्षका अनुसार यसै साता अस्ट्रेलिया र अमेरिकाका लागि फिल्मको अधिकार बिक्री भइसकेको छ ।

अस्ट्रेलियामा आगामी ४ सेप्टेम्बरदेखि नमस्ते इन्टरटेन्मेन्टले फिल्म प्रदर्शन गर्दैछ । अस्ट्रेलिया प्रदर्शनको एक सातापछि अर्थात् ११ सेप्टेम्बरदेखि माया डिजिटल युएसएले अमेरिकाका सिनेमा हलहरूमा ‘पार्वती’ रिलिज गर्दैछ।

फिल्मका निर्माता हरिहर अधिकारीले आकर्षक रकममा अस्ट्रेलिया र अमेरिकाको अधिकार दिइएको जानकारी दिए। फिल्मको मुख्य भूमिकामा निर्देशक नीता ढुङ्गाना स्वयं छिन्। उनीसँगै अशोक दर्जी, दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल, र दिप्त प्रकाश अधिकारी लगायतका कलाकारहरूको अभिनय रहेको छ। शिवम् अधिकारीको पटकथा रहेको यस फिल्ममा सुदीप बरालको छायाङ्कन, साहिल खानको सम्पादन तथा टिजर र ट्रेलर कट, र रामजी लामिछानेको नृत्य निर्देशन रहेको छ।

शंकर पाण्डे कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजर रहेको यस फिल्मका निर्माता हरिहर अधिकारी हुन्। नेपालमा एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले वितरण जिम्मा लिएको यस फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ। नेपालमा भने यो फिल्म आगामी भदौ १२ गते शुक्रबारदेखि प्रदर्शन हुँदैछ।