काठमाडौं । हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अमेरिकाबाट नयाँ हास्य सिरियल ‘म त मर्छु कि क्या हो’ निर्माण गरेका छन्। अमेरिकाको नर्थ क्यारोलाइना राज्यको राले क्षेत्रलाई केन्द्र बनाएर निर्माण गरिएको सिरियलमा सीतारामको निर्देशन छ ।
सीतारामका अनुसार नर्थ क्यारोलाइनाका राले, केरी, होली स्प्रिङ्स, हाई पोइन्ट, ग्रिन्सबोरो लगायत विभिन्न स्थानमा सिरियलको छायांकन गरिएको छ। धुर्मुस सुन्तली मिडीयाले निर्माण गरेको यो सिरियल हरेक साता शुक्रबार नेपाली समय साँझ ८ः१५ बजे प्रसारण गर्ने तयारी गरिएको छ । अमेरिकामा भने शुक्रबार विहान १०ः३० बजे प्रशारण हुने यो श्रृंखला धुर्मुस सुन्तली युटुव च्यानलबाट प्रशारण हुनेछ ।
सिरियलमा सीताराम र कुञ्जना धुर्मुस र सुन्तलीकै भूमिकामा देखिनेछन्। सिरियलमा हास्य कलाकार मोहन मिश्रसमेत मुख्य भूमिकामा देखिँदैछन्। सिरियलमा दिनेश कार्की, शंकर राज वाग्ले, संयम लामिछाने, मोनिका चौलागाँई, चुडा धिमाल, धर्म भारतीलगायत कलाकारको अभिनय देख्न सकिनेछ । सिरियलमा धुर्मुस सुन्तलीकी छोरी छोरी सुबिहानी कट्टेलले बाल कलाकारका रुपमा डेब्यू गर्दैछिन् ।
राजु केसीको छायांकन रहेको सिरियलमा आशिष अविरलको गायन, प्रकाश पुञ्जको शब्द, राजेन्द्र बज्गाईंको संगीत तथा राजेन्द्र मानन्धरको सम्पादन रहेको छ।






