काठमाडौँ। सुदर्शन थापाको निर्देशन रहने नयाँ फिल्म ‘शुभ विवाह’को क्यामेरा पूजाअर्चना गर्दै औपचारिक छायांकन सुरु गरिएको छ। निर्माण टोलीले पोखराबाट फिल्मको सुटिङ थालेको हो।
४५ दिनको छायांकन तालिका निर्धारण गरिएको यस फिल्मका लागि कलाकार तथा प्राविधिक टोली पोखरा पुगिसकेका छन्। प्रियदर्शन फिल्मसको ब्यानरमा निर्माण हुने फिल्ममा प्रदीप खड्का र सनिशा भट्टराईको प्रमुख भूमिकामा अभिनय रहनेछ ।
फिल्ममा प्रदीप र सनिशाका साथै हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराई, कृष्ण ढुङ्गाना, विशाल पहारी, अन्शु महर्जन, बिन्दा खतिवडा, अनिता बस्नेत, मेक्सम गौडेल, सन्तोष थापा, सुनिशा बजगाईँ, आश्मा गिरी, रामेश्वर रिजाल, सुहान श्रेष्ठ र रमेश बज्राचार्यलगायतको अभिनय रहनेछ।
सुप्रिया कटुवाल निर्माता रहेको यस फिल्मका कार्यकारी निर्माता साम भुजेल हुन्। रोमान्टिक कथावस्तुमा आधारित यस फिल्मको कथा प्रदीप श्रीवास्तवले लेखेका हुन् भने पटकथा तथा संवाद रामशरण पाठकको रहेको छ।
फिल्ममा अर्जुन पोखरेलको संगीत, रेभन आरती सिंहको पार्श्व संगीत, राजेश श्रेष्ठको छायांकन (डिओपी), मिलन श्रेष्ठको सम्पादन तथा राजेन्द्र मोक्तानको कलर ग्रेडिङ रहनेछ। विक्रम स्वारको नृत्य निर्देशन रहने फिल्मको ट्रेलर सम्पादन साहिल खानले गर्नेछन्।
आगामी फागुन २१ गतेबाट देशभर प्रदर्शन हुने यस फिल्मको डिजिटल पार्टनर बुढासुब्बा डिजिटल रहेको छ भने वितरण भिष्म फिल्मस् र श्री राम बालाजीले गर्नेछन्।






