प्रतिक्षालाई मिसेस ग्राण्ड ग्लोबल वुमन उपाधि

काठमाडौं । मिसेस भोग नेपाल सीजन–३ की विजेता प्रतिक्षा थापाले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस ग्रान्ड इन्टरनेसनल म्यानमार २०२६’ मा ‘मिसेस ग्रान्ड ग्लोबल वुमन २०२६’ को उपाधि जितेकी छन् ।

हाउस अफ फेसन नेपालका अनुसार तेस्रो संस्करणको मिसेस भोग नेपाल २०२६ की विजेता ३२ वर्षीया प्रतिक्षाले हालै म्यानमारमा आयोजित प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी थिइन् । ग्राण्ड फिनालेमा उनले मुख्य उपाधिसँगै ‘मिसेस ग्ल्यामर’ को सब–टाइटल पनि आफ्नो नाममा पार्न सफल भएकी हुन् ।

प्रतियोगितामा नेपालबाट राष्ट्रिय निर्देशक (नेसनल डाइरेक्टर) का रूपमा सहभागी ओशिमा बानुले पनि ‘बेस्ट नेसनल डाइरेक्टर अवार्ड’ प्राप्त गरेकी छिन् । आइतवार काठमाडौंमा आयोजिन पत्रकार सम्मेलनमा थापा तथा बानुले सञ्चारकर्मीसंग आफ्नो सफलताको कथा साझा गरेका छन् ।

विजेता प्रतिक्षा थापाले आफ्नो कडा मेहन तथा हाउस अफ फेसन नेपालका मेन्टरहरुको कडा प्रशिक्षणले आफूलाई अन्तर्राष्ट्रिय उपाधि जित्न सफल बनाएको धारणा व्यक्त गरिने् । राष्ट्रिय निर्देशकको उपाधि विजेता ओशिमा बानुले पनि प्रतिगको मेहनत तथा आफ्नो संसजको अथक परिश्रमले अन्तर्राष्ट्रियस्तरमा नेपालका गौरव बढाउन सफल भएको बताइन् ।

कार्यक्रममा हाउस अफ अफ फेसन नेपालले विवाहित महिलाहरूको आत्मविश्वास, व्यक्तित्व विकास, नेतृत्व क्षमता र व्यावसायिक सम्भावनालाई उजागर गर्ने उद्देश्यसहित मिसेस भोग सीजन ४ घोषणा गरेको छ ।

‘मुकुटभन्दा पर– उपाधिभन्दा ठूलो एउटा यात्रा’ भन्ने मूल नारासहित आयोजना हुन लागेको चौथो संस्करणलाई केवल सौन्दर्य तथा ताजको प्रतिस्पर्धाका रूपमा नभई महिलाको व्यक्तिगत रूपान्तरण, आत्मविश्वास अभिवृद्धि, नेतृत्व विकास, सञ्चार क्षमता र अन्तर्राष्ट्रिय अवसरसँग जोडिएको यात्राका रूपमा अघि बढाइने आयोजकले जनाएको छ ।

यस संस्करणको विशेष आकर्षणका रूपमा भौतिक अडिसन नहुने व्यवस्था गरिएको छ । नेपालका विभिन्न स्थान तथा नेपालबाहिर रहेका इच्छुक सहभागीले समेत सहज रूपमा सहभागिता जनाउन सकून् भन्ने उद्देश्यले सम्पूर्ण अडिसन प्रक्रिया अनलाइनमार्फत सञ्चालन गरिने छ । आयोजक संस्थाले आइतवार साँझदेखि नै आफ्नो सोसल मिडिया प्लेटफममार्फत आवेदन फाराम खुला गरिसकेको छ ।

मिसेस भोग सीजन फोरमा सहभागी हुन इच्छुक महिलाले आधिकारिक अनलाइन आवेदन फाराम भरेर आफ्नो प्रोफाइल तथा आवश्यक विवरण डिजिटल माध्यमबाट बुझाउन सक्नेछन् । प्राप्त आवेदनमध्ये प्रारम्भिक रूपमा छनोट भएका आवेदकलाई अडिसन प्रक्रियाअघि आवश्यक काउन्सेलिङ तथा मार्गदर्शन प्रदान गरिने छ ।

आगामी जनवरी महिनामा आयोजना हुने ग्राण्ड फिनालका विजेताहरूका लागि नगद पाँच लाख रुपैयाँसम्मका उपहार तथा विभिन्न अवसरहरू उपलब्ध गराइने छ । विजेताले प्राप्त गर्ने अवसरहरूलाई ताज र उपाधिमा मात्र सीमित नराखी व्यक्तिगत तथा व्यावसायिक विकाससँग जोडिने आयोजकले जनाएको छ ।