डा. शशि थरुर काठमाडौं आउँदै

काठमाडौं । नेपाल लिटरेचर फेस्टिभलको आयोजनामा भारतीय राजनीतिज्ञ एवम् बौद्धिक व्यक्तित्व डा. शशि थरुरले लेखेको ‘ह्वाई आई एम अ हिन्दू’को नेपाली अनुवाद ‘म किन हिन्दू’को लोकार्पण गरिने भएको छ । यही भदौ १० मा काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सम प्रेक्षालयमा आयोजना गरिने कार्यक्रममा डा. थरुरले दक्षिण एसियामा बहुलवाद, आस्था र धर्मनिरपेक्ष लोकतन्त्र विषयमा अन्तर्संवाद गर्नेछन् ।

डा. थरुरले म किन हिन्दूमा आफ्ना विश्वास र विद्वत्तापूर्ण विश्लेषणमार्फत हिन्दू धर्मको विवेचना गरेका छन् । आदि शङ्कराचार्य, पतञ्जलि, स्वामी विवेकानन्द, महात्मा गान्धीलगायत महापुरुषको योगदानसँगै वेद, अद्वैत वेदान्त, भक्तियोगलगायत दार्शनिक अवधारणाको व्याख्या गरेका उनले परम्परागत अभ्यास एवम् हिन्दूत्वको उदय जस्ता आधुनिक राजनीतिक प्रभावहरुको विश्लेषण गर्दै भारतीय धर्म–निरपेक्षताका लागि हिन्दू बहुसङ्ख्यक महत्वपूर्ण रहेको तर्कसमेत प्रस्तुत गरेका छन् ।

यो पुस्तक स्वेच्छा राउतले अनुवाद गरेकी हुन् । एक दशकदेखि पत्रकारितामा सक्रिय स्वेच्छा राउतलाई सामाजिक विषयमा लेख्न मनपर्छ । रेडियोबाट करिअर सुरु गरेकी उनले बिजमान्डु (पहिलोपोस्ट) र बीबीसी नेपाली सेवामार्फत अनलाइन पत्रकारिताको अनुभव सँगालेकी छन् । त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता र कानुनमा स्नातक एवम् पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर राउत जर्मनीको ड्वेचे वल एकेडेमीमा इन्टरनेसनल मिडिया स्टडिज अध्ययन गरेकी छन् ।

म किन हिन्दूलाई नेपालको अग्रणी प्रकाशन गृह फाइनप्रिन्टले प्रकाशन गरेको हो । यसले साहित्य, इतिहास, राजनीति तथा सार्वजनिक विमर्शसँग सम्बन्धित महत्वपूर्ण कृति प्रकाशन गर्दै आएको छ ।

परम्परागत पुस्तक विमोचनमा मात्र सीमित नराखी हामीले यस पुस्तकलाई बृहत्तर दक्षिण एसियाली सन्दर्भमा राखेर सार्वजनिक व्याख्यान आयोजना गर्ने परिकल्पना गरेका छौं,’ फाइनप्रिन्टका सहसंस्थापक एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) नीरज भारीले भने ।
ह्वाई आई एम अ हिन्दूको नेपाली संस्करण नेपाल लिटरेचर फेस्टिभल–२०२५ का अवसरमा पोखरामा विमोचन गर्ने योजना थियो । तर डा. थरुर फेस्टिभलमा सहभागी हुन नसकेपछि पुस्तकको औपचारिक विमोचन स्थगन गरिएको थियो । त्यसयता मुद्रित पुस्तकहरू उनकै उपस्थितिमा विमोचन हुने अवसरको प्रतीक्षामा छन् ।