काठमाडौं । हरेक अंग्रेजी महीनाको अन्तिम शुक्रवार नेपालयको ‘आर’शालामा आयोजना हुँदै आएको साङ्गीतिक पलेंटीमा यसपाली गीतकार तथा अभिनेता नीर शाह प्रस्तुत हुने भएका छन् । कार्यक्रममा शाहद्वारा रचित झण्डै डेढ दर्जन गीतहरू समावेस गरिएका छन् जसलाई पलेँटीका कण्ठ–सिल्पी मीना पोखरेल र रुपक चौधरीले गाउने छन् ।
पलेँटी कार्यक्रम आजभन्दा झण्डै २२ वर्ष पहिलेदेखि सञ्चालन हुँदै आएको लघु साङ्गीतिक कार्यक्रम हो । नीर शाह लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा क्रियाशील रहँदै आएका परिचित अभिनेता तथा निर्देशक हुन् ।
उनले रचेका गीतमा ‘पर्खी बसेँ आउला भनी’, ‘कहिले काहीँ म हाँस्छु’, ‘गहिराईमा डुब्दै नडुब’, ‘अधरको मुस्कान त केही होइन’, ‘बादल बनाई देऊ’, ‘हिउँभन्दा चिसो’ लगायतका अनेक गीतहरू रहेका छन् ।
शाहले गैर फिल्मी गीतमा जसरी कलम चलाएका छन् त्यत्तिकै सशक्त ढंगले फिल्मी गीतमा पनि कलम चलाएका छन् । शाहले रचना गरेका फिल्मी गीतहरूमा ‘आँखैमा कसैको तस्वीर बसेछ’, ‘जति निर्मल’, ‘छोरी मलाई भागी भागी’, ‘यो साँझ यो सुवास’ लगायतका गीतहरू लोकप्रिय रहेका छन् ।
यसपाली पलेँटीमा प्रस्तुत हुने नीर शाहका रचनामा सङ्गीतकार नातिकाजी, शम्भुजित बास्कोटा, सिके रसाइली र दीप श्रेष्ठहरूले धुन भरेका गीत समेटिएका छन् ।
पलेँटी कार्यक्रम यही अगष्ट महिनाको अन्तिम शुक्रबार र शनिबार २८ र २९ तारिखका दिन आयोजना हुनेछ ।






