नेपाली भर्सनमा राजमती

काठमाडौ । नेपाली समाजमा करिब २ सय ५० वर्षअघि नै लोकप्रिय भई पुस्तान्तरण हुदै आएको र पहिलो पटक करिब ११५ बर्ष पहिला भारतको कलकत्तामा रेकर्ड गरिएको कालजयी गीत ‘राजमती’को नेपालीभाषामा पनि पुन लेखन ,संगीत र एरेन्ज गरी सार्वजनिक गरिएको छ । बुधबार काठमाडौमा आयोजित एक कार्यक्रम बीच कलाकार मदनकृष्ण श्रेष्ठले गीतको नेपाली भर्सन सार्वजनिक गरे ।

नेपालको पहिलो गायक सेतुराम प्रधानले बिस १९६५ ताका भारतको कलकत्ता गई नेपाली र नेपालभाषाका राजमती सहित १४ वटा गीतहरू आफैँले गाएर ग्रामोफोन डिस्कमा रेकर्ड गराएका थिए । नेपालीले ग्रामोफोन डिस्कमा रेकर्ड गराएको पहिलो हो । यही सर्वप्रिय गीतलाई नेपाली भर्सनमा गीतकार कृष्णदेव रिमालको भाषा सम्पादन, गायक कृष्ण काफ्लेको स्वर र सन्तोष श्रेष्ठको संगीत संयोजनमा ल्याइएको हो ।

गएको दुई सय ५० वर्षदेखि आजको मितिसम्मै उत्तिकै जोस, जाँगर र रसका साथ लगातार गाइने कालजयी गीतलाई अझ ससारभरका नेपालीभाषी थप परिचित बनाउने उद्देश्य सहित नेपाली भर्सनमा ल्याएको निर्माता कम्पनी ड्रिम वर्ल्ड अफ फिल्म मेकर्सले जनाएको छ ।

गीतलाई १०० वर्ष अगाडिको कथाबस्तु अनुसार नै बनाइएको र शोही अनुरुप भिडियो निर्माण गरिएको हो । सागर खनाल र सोनी लगुन लगायत धेरै कलाकार हरुको अभिनय रहेको भिडियोको कन्सेप्ट र निर्देशन सबनम मुखियाले गरेकी छन् भने गीतको प्रोड्युसर रश्मी प्याकुरेल छिन् । भिडियोमा म्युजिक नेपाल, सेन्सोडाइन टुथपेस्ट र करेन्ट चाउचाउले सहयोग गरेका छन् ।

कार्यक्रममा गायक सेतुराम प्रधानको परिवारलाई सम्मान गरिएको थियो भने रास्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार बिजय रत्न तुलाधर र रास्ट्रिय युवा उद्धमी पुरस्कारबाट व्यवसायी फुपु तेञ्जिङ्ग शेर्पालाइ पुरस्कृत गरिएको छ।