झिँगेदाउ २ टिजरमा उतारचढाव र झगडा

काठमाडौं । आगामी असोज २ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘झिँगेदाउ २’ को टिजर सार्वजनिक भएको छ । ललितपुरको क्यूएफएक्स लबिममा एक कार्यक्रम आयोजना गर्दै टिजर सार्वजनिक गरिएको हो ।

१ मिनेट ५१ सेकेन्डको टिजरमा पारिवारिक सम्बन्धमा आउने उतारचढाव, देउरानी र जेठानीबीचको घर झगडाले स्थान पाएको छ । यो फिल्म ‘झिँगेदाउ’ को सिक्वेल हो। फिल्ममा आँचल शर्मा र केकी अधिकारी देउरानी जेठानीको भूमिकामा छन् भने महेश त्रिपाठी र कुशल बिष्ट दाजुभाइको भूमिकामा देखिएका छन् । फिल्ममा ज्ञानेन्द्र देउजाको निर्देशन छ ।

फिल्ममा केकी अधिकारी, आँचल शर्मा, महेश त्रिपाठी, कुशल बिष्ट, सरोज खनाल, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभय राज बराल, उत्तम केसी, शिवहरि वैरागी, आशा भुषाल, रेन प्रधान, विनोद कुमार पौडेल, आशिष पुरुष, विष्णु सापकोटा र नरेन्द्र थापाले अभिनय गरेका छन् ।

परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्मको कथा गोविन्द फुयाल र शिशिर चालिसेले लेखेका हुन् । फिल्ममा सुलभ प्रतिक देउजा र समिक्षा देउजाको लगानी गरेका छन् ।

कपनगढी सिनेमा र फिल्म क्रिउ नेपालको प्रस्तुतिमा निर्माण भएको फिल्ममा विष्णु घिमिरे ‘कल्पित’को डीओपी, मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन निर्देशन रहेको छ । फिल्मका प्रोडक्सन म्यानेजमेन्ट ईश्वर घिमिरेको छ । सिनेमा एप्पल इन्टरटेन्मेन्टले नेपालभर वितरण गर्दैछ ।