काठमाडौं । भदौ १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘तिनीहरुः इलिफेन्ट्स इन द फग’को म्युजिकल ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मका मुख्य पात्रको छटपटी, हतासपन र आक्रोश देखिन्छ । सन्तान हराएको पीडा र उसको खोजीका लागि संघर्षरत आमाको कथा छ । हात्तीले दिने दुःख र त्यसको त्रासमा बाँचिरहेको सिंगो गाउँ ट्रेलरमा देखाइएको छ ।
प्रहरीसँग छोरी अप्सरालाई खोजी गरिदिन गरेको आग्रह, आफन्तले नै गरेको शंका र उनको खोजीका लागि आमाले गरेको संघर्ष ट्रेलरमा देखाइएको छ । गीतमा तेस्रोलिंगी समुदाका व्यक्ति नाचिरहेको दृश्य देखिन्छ । यो फिल्म विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्मको इतिहासमै अहिलेसम्मकै ठूलो सफलता हासिल गरेर नेपालमा रिलिज हुन लागेको फिल्म हो ।
फिल्ममा अविनाश विक्रम शाहको निर्देशन छ । कान्समा यो फिल्मले जुरी च्वाइस अवार्ड पाएको थियो । फिल्ममा अभिनेत्री गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग, आकांक्षा कार्की लगायतको अभिनय रहेको छ । फिल्म नेपालसहित फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा निर्माण गरिएको हो ।
फिल्म निर्मातामा नेपालबाट अनुप पौडेल, फ्रान्सबाट जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी, जर्मनीबाट माइकल हेनरिक्स रहेको छन् । सह–निर्मातामा प्रचण्डमान श्रेष्ठ, ब्रजिलबाट तातियाना लेइते, लेओनार्दो मेक्की, पल जिश्लर, भेरोना मेइर स्टोर्म, मार्टिन रेचबक, सुसन्ने मान, कुमुदिनी गुरुङ श्रेष्ठ र सोहम ढकाल रहेका छन् । चार्ल्स अडिनेट लाइन प्रोड्यूसर रहेको फिल्मका एशोसिएट निर्माता नायिका केकी अधिकारी, प्रतीक सुवेदी र प्रतिभा जोशी छन् ।
अन्डरग्राउन्ड टकिज नेपालको तर्फबाट सह–निर्मातामा प्रवेश गुरुङ, एशोसिएट निर्माता आदित्य बस्नेत, अनुज पौड्याल, सन्तोष भट्टराई, बेन्जामिन ग्रुब्स छन् ।
निर्देशक शाहको नै पटकथा रहेको फिल्ममा अविनाश विक्रम शाह र सन्दीप बादलको कथा छ । ट्रेलरको गीतमा लव कर्णको शब्द, शिवानी भगत र देव अहिररावको स्वर रहेको छ ।





