१२ गाउँको सिनेमा हेर्न जाउँ

काठमाडौं । अभिनेता विराज भट्टको निर्माण तथा निर्देशन रहेको फिल्म ‘१२ गाउँ’को पहिलो गीत ‘सिनेमा हेर्न जाउँ’ सार्वजनिक भएको छ । रोमान्टिक भावको गीतमा डेव्यु अभिनेता तथा विराजका छोरा समीर भट्ट र अभिनेत्री सोनु चन्द्रपाल फिचर्ड छन् ।

गुजराती तथा दक्षिण भारतीय फिल्म र टेलिभिजन सिरियलकी अभिनेत्री सोनु चन्द्रपालले नेपाली फिल्ममा डेव्यु गरेकी हुन् । सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको गीतको भिडियोमा समीरको डान्स स्टेप हेर्दा उनले फिल्मको लागि निकै मेहनत गरेको देखाउँछ ।

गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत र बलिउड गायक नकाश अजिजको स्वर छ । फिल्मको यसअघि सार्वजनिक पोस्टर र एक्सन टिजरले दर्शकमाझ उच्च हाइप बनेको छ ।

फिल्मबाट दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यु गरेका छन् । फिल्ममा विराज, समीर, न्यान्सी र सनिशाका अलवा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुनजंग शाही, भिष्म जोशी, सुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट सिल्भाको अभिनय छ ।

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतीमा निर्माण भएको फिल्ममा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन छ । फिल्ममा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ ।

एक्सन–थ्रिलर कथामा बन्न लागेको फिल्मका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन् । तमिल तथा कन्नड फिल्ममा द्वन्द्व निर्देशक भएर काम गरेका स्टन्ट सिल्भालाई द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन् । महेश पौडेलको छायांकन रहेको फिल्म काठमाडौं, ललितपुर, वीरगञ्ज र हेटौंडामा छायांकन गरिएको छ । फिल्मको वितरण काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले गर्नेछ ।