मिस ग्ल्याम वर्ल्ड नेपालको आवेदन खुला

काठमाडौं । क्रिएटिभ इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी (सिआईएफटी) को आयोजनामा राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ हुने भएको छ । प्रतियोगिताका लागि आवेदनसमेत खुला गरिएको छ ।

आयोजक संस्थाकी प्रमुख सुचिता सचीका अनुसार फेसन, सौन्दर्य, व्यक्तित्व, नेतृत्व क्षमता तथा प्रतिभालाई केन्द्रमा राखेर आयोजना गर्न लागिएको प्रतियोगिताले नेपाली युवतीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने उद्देश्य राखेको छ ।

सचीका अनुसार प्रतियोगिताका विभिन्न गतिविधिहरु आगामी मंसिर १२ गतेसम्म विभिन्न चरणमा सञ्चालन हुनेछन् । प्रतियोगितामा १६ देखि ३२ वर्ष उमेर समूहका युवतीहरूले सहभागिता जनाउन सक्नेछन् । सहभागी हुनका लागि न्यूनतम ५ फिट १ इन्च उचाइ तोकिएको छ ।

प्रतियोगितामा सहभागी हुन इच्छुकले एक हजार रुपैयाँ आवेदन शुल्क बुझाउनु पर्नेछ । आवेदन तथा प्रतियोगितासम्बन्धी थप जानकारीका लागि आयोजक संस्था सिआईएफटीका प्रतिनिधि माधुरी कर्णलाई सम्पर्क गर्न सकिने छ ।

यो प्रतियोगिताका लागि आवेदन फाराम संकलन पश्चात आगामी असोज १० गते शनिवार अडिसन हुनेछ । त्यसपछि छनोट भएका योग्य २५ जना प्रतिस्पर्धिहरुलाई कोरियोग्राफर रोजिन शाक्यको नेतृत्वमा प्रशिक्षण दिइने छ । प्रतियोगिताको ग्राण्ड फिनाले आगामी मंसिर ५ गते ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजना हुनेछ ।

आयोजक संस्थाले ‘मिस ग्ल्याम वर्ल्ड नेपाल २०२६’ आयोजनामार्फत विभिन्न उमेर समूहका प्रतियोगीलाई समेट्दै तीन वटा अन्तर्राष्ट्रिय उपाधिका लागि नेपाली प्रतिनिधि छनोट गर्ने तयारी गरिएको जनाएको छ ।

आयोजक पक्षका अनुसार एउटै राष्ट्रिय प्रतियोगिताबाट ‘मिस ग्ल्याम युनिभर्स नेपाल’, ‘मिस ग्ल्याम वर्ल्ड नेपाल’ र ‘मिस टिन ग्ल्याम वर्ल्ड नेपाल’ का लागि योग्य तथा डिजर्भिङ डेलिगेट्स (प्रतिनिधि) छनोट गर्ने योजना अघि सारिएको छ ।