मिस युनाइटेड नेसनमा नेपालकी स्नेहा

काठमाडौँ । अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिस युनाइटेड नेसन २०२६’मा नेपालको प्रतिनिधित्व स्नेहा राउतले गर्ने भएकी छन् । ग्रीन आट्र्स मिडियाले राजधानीमा बुधबार एक कार्यक्रम गर्दै स्नेहालाई ‘मिस युनाइटेड नेसन नेपाल २०२६’को ताज पहिर्याउदै प्रतियोगीताको आधिकारिकता दिएको हो ।

उनले आगामी अक्टोबर ५ देखि भारतको नयाँदिल्लीमा हुने प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न लागेकी हुन् । ललितपुरकी २४ वर्षीया राउतले थाइल्यान्डबाट ब्याचलर इन बिजनेस स्टडिज पूरा गरेकी छन् ।

बत्तीसपुतलीस्थित द स्ट्र्यान्ड लाउन्ज एन्ड बारमा आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय कोरियोग्राफर रोजिन शाक्य तथा फोटोग्राफर महेश प्रधान, फेसन कोरियोग्राफर तथा पेजेन्ट निर्देशक अनिला श्रेष्ठ, ग्रीनआर्ट मिडियाका सिइओ प्रवीणप्रसाद लाकौललगायतले राउतालाई ताज पहिर्याउदै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गरिमा उच्च राख्न शुभकामना दिए ।

फेसन कोरियोग्राफर तथा पेजेन्ट निर्देशक अनिला श्रेष्ठले प्रतियोगिताका लागि राउतलाई व्यक्तित्व विकास, प्रशिक्षण तथा प्रस्तुति तयारीमा आफूले महत्वपुर्ण भुमिका खेल्ने जानकारी दिइन् ।

राउतले अन्तर्राष्ट्रिय प्रतियोगीतामा नेपालको कला, संस्कृति, सौन्दर्य, प्रतिभा र पहिचानलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने बताइन् ।