बुटवलमा पल र मलिकालाई दर्शकको वान्स मोर

काठमाडौँ । आगामी शुक्रबारबाट रिलिज हुने फिल्म ‘आ बाट आमा २’ का कलाकारहरु विपना थापा, पल शाह, मलिका महत, आकाश श्रेष्ठसहितको टिम फिल्म प्रचारप्रसारका लागि देश दौडाहामा छन् । उनीहरुले बुटवलमा भव्य कन्सर्ट गरेका छन्। बुटवलको गोलपार्कमा आयोजित कन्सर्टमा हजारौं दर्शकको उपस्थिति थियो ।

कन्सर्टमा फिल्मका तर्फबाट विपना थापा, पल शाह, आकाश श्रेष्ठ, मालिका महत, निकिता आचार्य र रिस्ता गुरुङसँगै गायक बाबुल गिरी तथा गायिका गंगा सोनाम, जुरीलगायत उपस्थित थिए । कार्यक्रममा फिल्मका गायक,संगीतकार तथा गीतकार गायक बाबुल गिरी र गायिका गंगा सोनामले बिहीबार रिलिज फिल्मको दशैं गीत गाउँदा पल शाह, मलिका महत, विपना थापा, निकिता आचार्य, आकाश श्रेष्ठ र रिश्ता गुरुङ नाँचेका थिए । फिल्मका निर्देशक चन्द्र पन्तले फिल्मको प्रचारप्रसारलाई तिब्र बनाउन कन्सर्ट गरिएको बताए ।

निर्देशक पन्तका अनुसार पल र मलिकालाई दर्शकले वान्स मोर भनिरहँदा बिपना थापा, आकाश श्रेष्ठ र निकिता आचार्यलाई भने ताली र हुटिङले स्वागत गरेका थिए । कन्सर्टमा जानुअघि कलाकार र चलचित्र पत्रकार संघ रुपन्देहीका निवर्तमान अध्यक्ष मोहन न्यौपानेको संयोजनमा कलाकार तथा पत्रकारबीच अन्तरक्रिया गरिएको थियो ।

निर्देशक चन्द्र पन्तकै कथा तथा पटकथा रहेको फिल्ममा पल शाह, मलिका महत र बिपना थापा,रिश्ता गुरुङ,निकिता आचार्य, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित विष्ट, नरेन खड्का, दिलिप अखेडालगायतको मुख्य भूमिका छ।