सिन्दुरे जात्राकी अञ्जनाः पूर्ण बहादुरको सारङ्गीको सिक्वेल होइन

काठमाडौं । फिल्म ‘सिन्दुरे जात्रा’ की अभिनेत्री अञ्जना बराइलीले फिल्म कथानक र प्राविधिक रूपमा बलियो भएको बताएकी छन् । नाम सुन्दै आफूलाई फिल्मले आकर्षण गरेको र कथा पढेपछि फिल्ममा समय मिले जोडिन्छु भनेर अनुबन्ध भएको उनले बताएकी छन् ।

उनले यो फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को कथासँग नमिल्ने र त्यसको सिक्वेल जस्तो पनि नरहेको दाबी गरिन् । ‘यो फिल्म महिला कथा प्रधान फिल्म हो । महिलालाई आजसम्म आइपुग्दा नेपाली समाजले कसरी हेर्छ भन्ने कथा फिल्ममा छ’, उनले भनिन् ।

उनले निर्देशक सरोज पौडेलको निर्देशन रहेको फिल्म न्यायाधीश बन्ने प्रयास वा वकालत गर्दै पक्षरविपक्षमा नदेखिने उनले बताएकी छन् । ‘हामीले यो पटक प्रश्न उठाउने प्रयास गरेका छौँ,’ अञ्जना भन्छिन्, ‘महिलाप्रति समाजको धारणा सही छ कि छैन भनेर प्रश्न समाजलाई नै छोडेका छौँ ।’

फिल्ममा अञ्जनासँगै विजय बराल, विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोलाराज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय छ ।

सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको फिल्मको कथा निर्देशक सरोज पौडेल स्वयंले तयार पारेका हुन् । सारंगी फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्रका निर्माता नेम महर्जन हुन् । राकेश खड्का र श्याम मगर सह–निर्माता तथा सुमन रञ्जित एसोसिएट निर्माता छन् । अनिश अधिकारीले लाइन निर्माणको जिम्मेवारी सम्हालेका छन् । फिल्म आगामी मंसिर १८ गते रिलिज हुँदैछ ।