काठमाडौं । आगामी शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘सारथी’ को ट्रेलर युट्युबको ट्रेन्डिङमा परेको छ । ट्रेलर युट्युबको ‘मुभिज चार्ट’ तर्फ ट्रेन्डिङ ९ मा उक्लिएको हो ।
फिल्मले युट्युबमा १ लाख ४० हजार बढी भ्युज बटुलिसकेको छ । ट्रेलरमा आमा र छोराबीचको माया, त्याग, सामाजिक विभेद र पहिचानको खोजीलाई निकै मार्मिक ढंगले देखाइएको छ ।
आमाको भूमिकामा रहेकी अभिनेत्री निरुता सिंहको पीडादायी मातृत्वको अभिनय र उनले वाचन गरेको भावनात्मक कविताप्रति दर्शकको चासो बढेको छ । लामो समयपछि निरुता सिंहसँगै अभिनेता उत्तम प्रधानले पनि यसै फिल्ममार्फत पर्दामा पुनरागमन गरेका छन् ।
ट्रेलरमा समेटिएको म्याग्दीको दुर्गम गुर्जा गाउँको वास्तविक जनजीवन, प्राकृतिक सुन्दरता र स्थानीय संस्कृतिको छायांकनले फिल्मलाई निकै जीवन्त बनाएको छ ।
फिल्ममा छोराको भूमिकामा नवकलाकार गिरी विश्वकर्मा रहेका छन् । कुमार गजुरेलको लेखन तथा निर्देशनमा बनेका फिल्ममा निरुता, उत्तम, गायत्री र गिरी विश्वकर्मा मुख्य भूमिकामा छन् । सहायक भूमिकामा मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, कल्पना थापा, मदन थापा, अनिता कुईकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल, धिरेन कार्कीलगायत कलाकारले अभिनय गरेका छन् ।
किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको फिल्ममा संकल्प भुजेलको छायांकन छ । तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता रदिप श्रेष्ठ र प्रदीप रायमाझी हुन् । फिल्मका कार्यकारी निर्मातामा बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ छन् । सिनेमामा अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा सह–निर्माता तथा अमिर केसी लाइन प्रोड्युसर हुन् । फिल्म आरआर फिल्म्सले वितरण गर्नेछ ।







