काठमाडौं । उडान स्टुडियोको प्रस्तुती रहेको नेपाली फिल्म ‘आशा’ को फर्स्टलुक सार्वजनिक गरिएको छ । फस्टलुकमा फिल्मका मुख्य पात्रहरु महेश त्रिपाठी, अञ्जना बराइली र आशान्त शर्मा देखिएका छन् ।
पोस्टरमा एउटा घर छ, जहाँ अभिनेता शुशांक मैनालीको तस्विरमा माला लगाइएको छ । उक्त पोस्टरमा आशान्त शर्मा पण्डितको रुपमा प्रस्तुत छन् । उनले केही कुरालाई चासोपूर्वक हेरिरहेको देख्न सकिन्छ । त्यस्तै महेश त्रिपाठी किरिया बसिरहेका छन् । अभिनेत्री अञ्जना बराइली भने ढोकाको दैलोबाट चिहाएर हेरिरहेकी छिन् । पोस्टर रोयल भीमसेनले तयार पारेका हुन् ।
फिल्मकी निर्मात्री शर्मिला थापाले फिल्मको विषयवस्तु अनुसार नै पोस्टर तयार गरेर सार्वजनिक गरिएको बताइन । फिल्म आगामी फागुन १४ गते रिलिज हुँदैछ ।
निर्देशक राजिव गुरुङको कथा तथा निर्देशनमा तयार भएको फिल्ममा शुशांक मैनाली, महेश त्रिपाठी, अञ्जना बराइली, सुशील सिटौला, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मी बालकलाकार चिराग श्रेष्ठ, काश्वी भण्डारी लगायतको अभिनय रहेको छ ।
फिल्मको छायांकन काठमाडौँ उपत्यकासँगै नमोबुद्ध र धुलिखेल आसपासमा गरिएको हो । फिल्मलाई रीच इन्टरटेन्मेन्टले वितरण गर्दैछ । फिल्ममा स्क्रिप्ट सुपरभाइजर र कास्टिङ निर्देशक सुदाम सिके, सिनेम्याटोग्राफर नरेन्द्र मैनाली, संगीतकार युग भुसाल र समीर खरेल, साउण्ड डिजाइनर किशोर आचार्य, सम्पादक लोकेश बज्राचार्य, मेकअप एण्ड हेयर सोनाली शिल्पकार रहेका छन् ।
यस्तै, फिल्ममा मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने, प्रोडक्सन म्यानेजर अरुण रेग्मी, प्रोडक्सन डिजाइनर रेलिजा श्रेष्ठ, पब्लिसिटी डिजाइनर रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट) र वितरक करण श्रेष्ठ (रीच इन्टरटेनमेन्ट) रहेका छन् ।







