ह्रस्व दीर्घको विदेश अधिकार बिक्री

काठमाडौं । अभिनेत्री नीता ढुंगानाको लगानीमा निर्माण भएको फिल्म ‘ह्रस्व दीर्घ’ नेपालमा नेपाली र हिन्दी भाषामा एकै दिन रिलिज हुने भएको छ । शुक्रबार निर्माण टिमले सेभेन सिज इन्टरटेनमेन्टलाई विदेश राइट् बेच्दै फिल्म नेपालमा कार्तिक ३० गते नेपालीसँगै हिन्दी भाषामा पनि प्रदर्शन हुने जानकारी दिएको हो ।

फिल्म विदेशमा भने एक हप्तापछि अर्थात् मंसिर ७ गतेबाट नेपाली र हिन्दी दुवै भाषामा रिलिज हुने जानकारी निर्मात्री ढुंगानाले बताइन् । फिल्मको विदेश रिलिजको हिन्दी रिलिज अधिकार पनि सेभेन सिजले नै खरिद गरेको हो । यो कम्पनीका सञ्चालकमध्येका एक विनोद पौडेलले ‘ह्रस्व दीर्घ’ विदेशमा बक्सअफिस नै रिलिज हुने जानकारी दिए ।

नेपाली र हिन्दीमा रिलिज भएको दुई महिना पश्चात यो फिल्म तेलुगु भाषामा पनि रिलिज गर्ने तयारी भैरहेको अभिनेता हरिहर अधिकारीले बताए । ‘हाम्रो फिल्ममा धेरै दक्षिण भारतीय र बलिउड कलाकारले अभिनय गरेकाले पनि नेपालीसँगै हिन्दी र तेलुगु भाषामा हामीले ह्रस्व दीर्घलाई भारतमा प्रथामिकताका साथ रिलिज गदैछौं । भारतीय वितरकले पनि फिल्मप्रति चासो देखाउनुभएको छ’, उनले भने ।

नीता फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । फिल्ममा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायतका कलाकारको अभिनय रहेको छ ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको फिल्ममा बलिउडका सिनेमाटोग्राफर कवीरलालको छायांकन छ ।

फिल्ममा चन्द्र पन्तको निर्देशन छ । यसअघि केही भोजपुरी फिल्मको निर्देशन तथा करिब पाँच दर्जनभन्दा बढी नेपाली सिनेमामा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकीय डेव्यु नेपाली फिल्म हो ।

विजय बस्यालले पोस्टर डिजाइन गरेको फिल्म मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।