काठमाडौं । ५१ औँ दिन मनाउन सफल फिल्म ‘लालीबजार’को गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी दर्शक पाएको छ । षट्कोण आर्ट्सको आधिकारिक युट्युब च्यानलमा १३ मार्च २०२६ मा सार्वजनिक भएको गीतले करिब सात महिनामै यो उपलब्धि हासिल गरेको हो ।
फिल्मकी अभिनेत्री तथा यो गीतमा नाँचेकी स्वस्तिमा खड्काले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेकी छन् । ‘नेपालका कतिपय ठाउँमा, जहाँ सायद मेरा फिल्महरू पुग्न सकेनन्, त्यहाँ मेरा गीतहरूले मलाई पुर्याइदिए । मेरो करियरमा गीतहरूको भूमिका एकदमै ठूलो छ ।’उनले एउटा तस्बिर सेयर गर्दै लेखेकी छन् ।
गीतमा स्वस्तिमा खड्का र समाइरा थापालगायत कलाकारको अभिनय छ । खेम सेन्चुरी र दीपिका बयम्बु मगरको स्वर रहेको गीतमा रमेश बीजीको शब्द तथा खेम सेन्चुरीकै संगीत छ । गीतको नृत्य निर्देशन प्रदीप लामाले गरेका हुन् ।
गत वैशाख २५ गते नेपाल रिलिज भएको फिल्म ‘लालीबजार’ दसैँको अवसर पारेर ओटीटी प्लेटफर्म डिगोमा रिलिज गरिएको छ । आमा र छोरीको कथामार्फत शिक्षाको महत्वलाई प्रस्तुत गरिएको फिल्म ‘लालीबजार’ डिगोमा रिलिज भएसँगै डायस्पोराका नेपालीले हेरेर सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया दिईरहेका छन् ।
फिल्ममा स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी, कुन्टललगायतका कलाकारको अभिनय छ। यही फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले अभिनयमा डेब्यु गरेका छन्।
यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्मको पटकथा तथा संवाद निर्देशक थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा लेखेका हुन्। फिल्मका कार्यकारी निर्माता प्रदीप भट्टराई हुन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन्।








