यसरी हुँदैछ काठमाडौं फिल्म फेस्टिभल

काठमाडौं । काठमाडौँ फिल्म फेस्टिभलमा भारतीय अभिनेत्री शवाना आजमी, सांघाई फिल्म एकेडेमी, फिल्म आर्टस् रिसर्च सेन्टरका प्राध्यापक मार्को मुलर, जापानका फिल्म निर्देशक ताकायुकी नाकामुरा र भारतीय फिल्म प्रोग्रामर दीप्ति डीकुन्हा सहभागी हुने भएका छन् ।

काठमाडौँको प्राचीनता, मौलिकता, संस्कार, संस्कृति र परम्परा, मूर्त, अमूर्त तथा अभिलेख सम्पदाको प्रवर्धन गर्ने उद्देश्य राखेर काठमाडौँ महानगरपालिकाले कार्तिक १३ गतेदेखि १५ गतेसम्म फेस्टिभलको आयोजना गर्दैछ । पुराना पुस्तालाई सम्मान गर्दै नयाँ पुस्तामा कला हस्तान्तरण गर्ने उद्देश्यसहित आयोजना हुन लागेको फेस्टिभलबाट काठमाडौँभित्र भएका तर, अहिलेसम्म नभनिएका कथाहरुको खोजी हुने, प्राकृतिक तथा सांस्कृतिक सम्पदाको सौन्दर्य र गरिमा विश्व थप विस्तार हुने आयोजकको अपेक्षा छ ।

शवाना कार्तिक १४ गते पर्यटन बोर्डमा आयोजना हुने ‘फिल्म, महोत्सव र सार्थक जीवन (फिल्म्स्, फेस्टिभल्स एण्ड अ लाइफ वेल लाइभ्ड)’ विषयक अन्तरसंवादमा, दीप्ति डीकुन्हा ‘सिर्जनात्मक सहरहरुको प्रवर्धनका लागि फिल्म र महोत्सव (नर्चरिङ् क्रियटिभ सिटिज थ्रु फिल्म एण्ड फेस्टिभल्स)’ विषयक प्यानल डिस्कसनमा सहभागी हुनेछन् ।

निर्देशक नाकामुराले कार्तिक १४ गते राष्ट्रिय सभा गृहमा यागामाता युनेस्को फिल्म सिटी सर्टस्को परिचयात्मक प्रस्तुति गर्नेछन् । १५ गते पर्यटन बोर्डमा सेन्टरका प्राध्यापक मार्को मुलरको मास्टर क्लास सञ्चालन हुनेछ । ‘ग्लोबल साउथ र अन्तर्राष्ट्रिय महोत्सवका बिच चलचित्र सौन्दर्य शास्त्र (द इन्पोटेन्स अफ फिल्म एस्थेटिक्स फ्रम द ग्लोबल साउथ एण्ड द इन्टरनेशनल फेस्टिभल सर्किट) मास्टर क्लासको विषय रहेको छ । यसै दिन ‘नेपाली फिल्म उद्योगको विगत, वर्तमान र भविष्य (नेपाल्स फिल्म इन्डष्ट्री पास्ट, प्रिजेन्ट एण्ड फ्युचर)’ विषयमा प्यानल हुनेछ ।

महानगरपालिकाले नेपाली पुराना फिल्महरुको संरक्षण गर्ने उद्देश्यले फेस्टिभलमा सन् १९७० र ८० को दशकमा निर्माण भएका नेपाली कथानक फिल्म ‘कुमारी’ र ‘के घर के डेरा’को विशेष प्रदर्शन गर्नेछ ।

महोत्सवमा अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाएका फिचर फिल्म, काल्पनिक कथामा आधारित फिल्म, फिल्म र छोटा फिल्महरू (सर्ट फिल्म) प्रदर्शन गरिनेछन् । ‘नेपाल प्यानोरामा सट्र्स’मा स्थानीय नवप्रतिभाहरूले नेपालकै सन्दर्भमा तयार पारिएका फिल्म, सर्ट फिल्म तथा डकुमेन्ट्री समावेश गरिनेछन् । यसका लागि काठमाडौँ महानगरपालिकाले खुला आव्हान गरेको थियो । यसरी गरिएको आव्हानबाट ७५ वटा फिल्म प्राप्त भएकोमा १० वटा प्रदर्शनका लागि छानिएका छन् ।

यसरी छानिएका फिल्मलाई महानगरपालिकाले हरेकलाई १ लाख रुपियाँका दरले प्रोत्साहन पुरस्कार प्रदान गर्नेछ । यस्तै खुला आव्हानबाट युवा लक्षित ५ मिनेट अवधिसम्मका सर्ट भिडियो च्यालेञ्जमा ३५ वटा भिडियो प्राप्त भएका थिए । यीमध्ये प्रदर्शनका लागि ११ वटा छानिएका छन् । यसरी छानिएकामध्ये निर्णायक मण्डलबाट पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गर्नेले क्रमशः १ लाख ५० हजार रुपियाँ, १ लाख रुपियाँ र ५० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।

‘युथ भिडियो च्यालेञ्ज’ अन्तर्गत ४० वर्षसम्मका युवाहरुलाई ‘माइ कल्चर, माइ हेरिटेज (मेरो संस्कृति, मेरो सम्पदा)’ शीर्षकमा र नेपाल पानोरमा शीर्षकमा खुला वृत्तचित्र (डकुमेन्ट्री)ं, कथात्मक (फिक्सन), एनिमेसन, प्रयोगात्मक विधामा ३० मिनेटसम्म अवधिका भिडियो सिर्जना गरेर पठाउन आव्हान गरिएको थियो ।

नेपाल पानोरामा सर्ट्समा सरिता शाहको ‘मानकी’, सुदर्शन योञ्जनको ‘अशुभ अष्टमी’, श्यामबहादुर लिम्बूको ‘डुअर्स आर स्टिल क्लोज्ड’, पूर्णबहादुर गुरुङ्को ‘अ लेटर इन वीन्टर’, लाक्पा छोडेन लामाको ‘होम इज नट अ प्लेस’, राजेशप्रसाद खत्रीको ‘चुम्पाः अ डल अन्डर द बास्केट’, अलिन कट्टेलको ‘साप्सुः अ सोलेम प्रमिस’, आकाश धिमालको ‘नार’ र सर्जुन राईको ‘मारिछा’ छनोट भएका छन् ।

‘माई कल्चर, माई हेरिटेज’ (मेरो संस्कृति, मेरो सम्पदा) सर्ट भिडियो च्यालेन्जमा शैलेश हमालको ‘ह्याप्पिनेस’, धृटिका तिवारीको ‘बगैँचा जस्तै सहर’, करन ब्लनको ‘दियो’, दिनेश महर्जनको ‘इन्द्रजात्राः द विगेस्ट फेस्टिभल अफ काठमाडौँ’ सौगात सापकोटाको ‘झिँगु छेँ (माइ होम)’, नर्जुङ् बुढाथोकीको ‘विहाइण्ड द गड’, केशव सार्कीको ‘अन्तिम यात्रा’, जीवन सुनुवारको ‘भकुण्डे भूत’, क्रिमिन तुलाधरको ‘सचिकाः अ थ्रेड द्याद टाइज यु होम’, अनुभव श्रेष्ठको ‘द सोल अफ गुठि’ र सजिल बस्नेतको ‘छं ल्वाः मंसां’ छनोट भएका छन् ।

फेस्टिभल आयोजना गर्न फिल्म प्रदर्शन पार्टनरका रुपमा जय नेपाल सिनेमा घर, सवारी साधन तथा यातायातका लागि अग्नि ग्रुप र इनड्राइभ, अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रसँगको सम्बन्धका लागि नेपालका लागि अमेरिकी दूताबास, अष्ट्रेलियन दूताबास, यूनेस्को, अलाइन्स फ्रेन्चिजसँग सहकार्य भएको छ ।

फेस्टिभलको इन्टरनेशनल पानोरमा अन्तर्गत जय नेपाल सिनेमा घरमा फिल्म प्रदर्शन हुनेछन् । यसरी प्रदर्शन हुने फिल्महरुमा लान हङचाउ निर्देशित चिनियाँ फिल्म ‘डियर यु’, विकास रञ्जन मिश्र निर्देशित भारतीय फिल्म ‘बयान’, जुलियन न्युहवास निर्देशित अष्ट्रेलियन फिल्म ‘मिस एन प्लेस’, जोल्जार्गल पुरेभ्दास निर्देशित अष्ट्रेलियन – मंगोलियन चलचित्र ‘स्टेयर्स’, टम पाइजेट निर्देशत अमेरिकी फिल्म ‘इन्च्यान्टेड म्याटर, द आर्ट अफ रोवर्ट पावेल’, मेरिट एन्लान निर्देशित फ्रान्सेली चलचित्र ‘ला ग्राभिडा’ लगायत चलचित्र छन् ।

जाङहाङ जुन निर्देशित कोरियन चलचित्र ‘द किङस वार्डेन’, रीमा दास निर्देशित सिंगापुर–इन्डियन चलचित्र ‘नट अ हिरो’, सर्वानो सदत निर्देशित जर्मनी – अफगानिस्तानी चलचित्र ‘नो गुड मेन’, फ्रान्सिस फर्ड कोपोला निर्देशित अमेरिकन चलचित्र ‘गड फादर’ प्रदर्शन गरिनेछ । समापन अवसरमा प्रदर्शन गरिने ‘प्राइभेट प्रपर्टी’ नेपाली – अमेरिकी – फ्रान्स र अष्टे«लियन चलचित्र हो । यस्तै जापानको यामागाता (युनेस्को क्रियटिभ सिटी अफ फ्लिम) बाट आएको लघु चलचित्र ‘भ्यू पिपुल, भ्यू सिटीज’ प्रदर्शन हुनेछ ।