फ्रान्समा गौथलीलाई वेस्ट फरेन सिनेमा अवार्ड

काठमाडौं । फ्रान्सको कान्समा मासिक र वार्षिक रुपमा आयोजना हुने ‘वर्ल्ड फिल्म फेस्टिभल इन क्यान्स’मा नेपाली फिल्म ‘गौैँथली’ले ‘वेस्ट फरेन सिनेमा’को अवार्ड जितेको छ ।यो फेस्टिभललाई ‘वर्ल्ड फिल्म फेस्टिभल इन क्यान्स’ रिभेम्बर द फ्युचर पनि भनिन्छ ।

फिल्मका निर्देशक डा. कपिल रिजालले अवार्ड पाएसँगै मन गर्वले भरिएको र आँखामा खुसीका आँसु छचल्किएको बताएका छन् । ‘२५ वर्षअघि मेरा बुवा डा. भोला रिजालले निर्माण गर्नुभएको गीति फिल्म ‘गौँथली’को त्यही भाव, त्यही माया र त्यही विरासतलाई आत्मसात् गर्दै मैले नयाँ पुस्तासम्म नयाँ ढंगले पुर्‍याउने एउटा सानो प्रयास मात्र गरेको हुँ,’ उनले भने ।

निर्माता सुमन गिरीले फिल्मले गौरवमय इतिहास बनाएको बताए । ‘हिजो एउटा सपना थियो, आज त्यो सपना गौरवपूर्ण इतिहास बनेको छ,’ उनले भने, ‘हाम्रो सानो प्रयासलाई तपाईंहरूले दिनुभएको ठूलो माया, विश्वास र हौसलाले आज यो खुसीको क्षण सम्भव भएको छ ।’

प्रदर्शनको सय दिन मनाइसकेको फिल्मले २६ करोडमाथिको व्यापार गरिसकेको छ । यो नेपाली फिल्म उद्योगको सबैभन्दा धेरै कमाउने दोस्रो फिल्म बनिसकेको छ । फिल्ममा अरुण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा छन् ।