जलाकीको अमेरिका र क्यानडा प्रदर्शन अधिकार बिक्री

काठमाडौं । निर्देशक अशोक थापा मगरको निर्देशनमा बनेको दोस्रो फिल्म ‘जलाकी’को अमेरिका र क्यानडाका लागि अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री भएको छ । फिल्म ‘खुस्मा’ फेम्ड निर्देशक मगरले पिएनएम एलएलसीले अमेरिका र क्यानडाको प्रदर्शन अधिकार किनेको जानकारी दिए ।

फिल्मका ‘कलेजीको छेऊ’, ‘चाँदी जलप’ र ‘जाले रुमाल मायालाई’ बोलका गीतसँगै टिजर सार्वजनिक भइसकेका छन् । ‘चाँदी जलप’ बोलको गीतमा १० लाखभन्दा बढी टिकटक भिडियो बनेका छन् ।

आगामी मंसिर ४ गतेबाट प्रदर्शन हुने फिल्मको कथा मगर र गुरुङ समुदायको आस्था, संस्कृति, परम्परा र भावनामा केन्द्रित छ ।

फिल्ममा उपासना सिंह ठकुरी, सोनम तोप्देन, शिल्पा मास्के, माओत्से गरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्क बहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिन र विशेष भूमिकामा क्याप्टेन विजय लामा तथा बालकलाकारमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा, रिन्सी धनहा मगरले अभिनय गरेका छन् । यो सिनेमाबाट मिस सिक्किमकी साहारा हाङमा लिम्बूले नेपाली रजतपटमा डेब्यु गरेकी छन् ।

एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका निर्मातामा ओम घर्ति मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् । फिल्म गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्नेछ ।