काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री वेदबहादुर गुरुङ (श्याम) को परिकल्पनामा निर्माण भइरहेको नेपाली फिल्म ‘बुकी फूल’को छायांकन एक महिनामा पुरा भएको छ । अभियान फिल्म्स प्रोडक्सन प्रालि पोखराको ब्यानरमा निर्माण भएको फिल्मको मंगलबार कास्कीको मादी गाउँपालिकास्थित पर्यटकीय गाउँ ताङतिङमा अन्तिम दृश्य छायांकन गर्दै इन्डक्ल्याप गरिएको हो।
निर्माण पक्षका अनुसार फिल्मले गुरुङ सभ्यता, संस्कृति र संस्कारलाई पर्दामा उतार्नेछ । सिक्लेस र आसपासका क्षेत्रमा छायांकन गरिएको फिल्मको निर्देशन ओमप्रकाश गुरुङले गरेका छन्।
फिल्ममा दयाहाङ राई, संस्कृति गुरुङ, पुष्कर गुरुङ, कविता आले, विश्वास गुरुङ, माया गुरुङ, राजेश गुरुङ, एन्सर्ज गुरुङ, डीबी गुरुङ, बलबहादुर गुरुङ, लालशोभा गुरुङ, प्रकाश घिमिरेलगायत कलाकारहरूको अभिनय रहेको छ।
फिल्मको छायांकन सुसान प्रजापतिले गरेका हुन्। मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने रहेका छन् भने सहायक निर्देशकका रूपमा विशाल राई र सुरेन्द्र सिंहले साथ दिएका छन्। कला निर्देशन कमलबहादुर गुरुङ, याङसाङ राई र रोशन मुर्मुले गरेका छन्।
पोसाक व्यवस्थापन कमला छ्यान्त्यालले सम्हालेकी छन् भने लाइभ साउन्डमा नवीन श्रेष्ठ, मेकअपमा विक्रम थापा र बीटीएस छायांकनमा समीर गुरुङ रहेका छन्। सहनिर्माण नियन्त्रकका रूपमा टेक गुरुङले जिम्मेवारी निर्वाह गरेका छन्। चलचित्रको नृत्य निर्देशन कमलबहादुर गुरुङले गरेका छन्।








