विशेष शोमा बुलाकीको तारिफ

काठमाडौं । वैशाख १ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बुलाकी’ले स्पेशल स्क्रिनिङमा प्रशंसा पाएको छ । बुधबार साँझ आयोजित शोमा फिल्म हेर्न पुगेका फिल्मकर्मी र पत्रकारले फिल्मको कथावस्तु, प्रस्तुति, कलाकारको अभिनयको प्रशंसा गरेका थिए ।

फिल्मले मल्टिप्लेक्समा राम्रो शोज पाएको छैन । प्रदर्शकहरुले फिल्मलाई चेपुवामा पारेको गुनासो निर्माताको छ । तर, फिल्मले स्पेशल स्क्रिनिङमा पाएको प्रतिक्रियाबाट भने निर्माता उत्साहित छन् । फिल्म हेर्न पुगेका सांसद ज्ञानेन्द्र शाहीले कलाकारको अभिनय, संवाद, कर्णालीको कथालाई मार्मिक ढंगले फिल्ममा प्रस्तुत गरेको बताए ।

फिल्म हेर्न पुगेका निर्देशक दिनेश डीसीले पनि फिल्मलाई उत्कृष्ट बनेको बताए । अभिनेता नीता ढुंगानाले फिल्म हेर्दा छुट्टै आनन्दको अनुभुती भएको सुनाइन् । अनि अभिनेता हरिहर अधिकारीले पनि नेपाली फिल्ममा मौलिक कथा भन्न आवश्यक रहेको सुनाए ।

अभिनेता पुष्प खड्का, गजित बिष्ट, राज कटुवाल, मुकुन भुषाल, निर्देशक ज्ञानेन्द्र देउजा लगायतले पनि फिल्मले पुरा समय बाँधेर राखेको सुनाए । सिनेमामा नायक नरेन खड्काले त सरप्राइज नै दिएका छन् । फिल्म क्षेत्रमा नोटिस नभएका नरेनको अभिनयले दर्शकलाई प्रभावित बनाउँछ ।

अभिनेता सुरक्षा पन्त शक्तिशाली अभिनयका कारण हाबी छिन् । डेव्यु अभिनेता विराज विष्टको अभिनयले पनि फिल्ममा दर्शकलाई फरक अनुभुती गराउँछ । डेव्यु निर्देशक लक्ष्मण सुनारले कर्णालीको कथा अझै धेरै भन्न बाँकी रहेको सुनाए । फिल्म हेर्नका लागि निर्देशक नवल नेपाल कलाकार प्रशान्त ताम्राकार, हरिष निरौला (क्रकोच) लगायत पनि पुगेका थिए ।

फिल्ममा कर्णालीको ग्रामीण जीवन, रीतिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने आरोह अवरोहलाई प्रस्तुत गरिएको छ । नरेन खड्का, रक्षा पन्त, बिराज बिष्ट, रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनवहादर राई, लक्ष्मण देवकोटा, बसन्त उदास, सोनु सेढाइका अलवा प्रकाश कँडेल र सरस्वती खत्रीले फिल्मबाट नेपाली फिल्म क्षेत्रमा डेव्यु गर्दैछन् ।

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा स्व।मोति बिष्टको प्रस्तुति रहेको फिल्म शिब ढकालले खिचेका हुन् । अर्जुन जिसीले सम्पादन गरेको फिल्ममा राजबहादुर सानेको कथा, राजबहादुर साने, निर्मल पौडेल र निर्देशक सुनार तथा अभिनेता बिष्ट पटकथा तथा संवाद रहेको छ ।