विश्वकपले साउनमा पुग्यो द भ्वाइस अफ नेपाल

काठमाडौ । विश्व चर्चित गायन रियालिटी शो ‘द भ्वाईस’को नेपाली फ्रेन्चाइज ‘द भ्वाईस अफ नेपाल’ कान्तिपुर एचडीबाट प्रशारण हुने भएको छ । कार्यक्रमका लागि एचडी टेलिभिजन नै हुनुपर्ने नियम भएकाले उक्त शो कान्तिपुर एचडी बाट प्रसारण हुने निश्चित भएको हो ।

एएनसी प्रोडक्सन एजेन्सीले निर्माण गर्ने यस रियालिटी शोलाई ‘नेपाल आइडल’ निर्देशन गरेका लक्ष्मण पौडेलले निर्देशन गर्दैछन् । असारबाट प्रसारण हुने कार्यक्रम भए पनि रसियामा हुन लागेको विश्वकप फूटबलका कारण शो साउनबाट प्रसारण हुने एएनसीका अध्यक्ष प्रह्लादसिंह महतले बताए ।

फिरोज तिमल्सिना प्रमुख सहायक निर्देशक रहने शोमा गायक दीप श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल र अभया सुब्बा निर्णायक छन् । शोको विजेतालाई ‘भ्वाईस अफ नेशन’ घोषणा गर्दै २५ लाख नगद, नयाँ कार, २० लाख बराबरको भिडियो एल्बमको सम्झौता तथा विश्व भ्रमणको अवसर प्राप्त गर्नेछन् ।