काठमाडौं । कवि श्रवण मुकारुङका कविता अब फिल्ममा पनि सुन्न पाइने भएको छ । कवि मुकारुङले फिल्म ‘दुखी आत्मा’ का लागि विभिन्न शीर्षकका १० वटा कविता लेखेका छन् । दीपेन्द्र लामाको लेखन र निर्देशन रहेको फिल्मको पटकथा अनुसार कवि मुकारुङले रचेका ती कविता फिल्मभित्र ‘अवस्था’ अनुसार राखिएको बताइएको छ ।
‘माथि माथि शैलुङ्गेमा’, ‘तिमी तारेभीर’, ‘राई माइलाले गाउँ छोड्यो रे’ जस्ता गीतका रचनाकार मुकारुङले आफू ‘दुखी आत्मा’ मा फुलटाइमर कविका रुपमा आवद्ध हुन पाएकोमा खुसी व्यक्त गरेका छन । ‘फिल्मका फराकिला दर्शक समूहमाझ कविता पुग्नु कुनै पनि स्रष्टाका लागि उत्साहजनक हो,’ उनले भने, ‘म आफ्ना कवितालाई फरक प्लेटफर्ममा हेर्न आतुर छु ।’
निर्देशक लामाले फिल्मको प्रमुख पात्रको मनोविज्ञान र यसअघि मुकारुङले लेखेका कविताहरुको स्वभावबीच एकरुपता पाइएकोले उनलाई कविता रच्न लगाइएको बताए । उनले भने, ‘कवि मुकारुङका कविताले फिल्मको कलात्मक उचाइ र कथाको आयामलाई बढाउने काम गरेको छ । पात्रको कतिपय भाव र सोचाइलाई संवाद वा दृश्यमार्फत् प्रस्तुत गर्न गाह्रो हुन्छ, त्यसैले यसमा कविताको सहारा लिइएको हो ।’
निर्देशक लामा मुकारुङका कविताहरुले आफ्नो फिल्मको पात्र र परिवेशलाई न्याय मिलेको दाबी गर्दछन । मुकारुङका अधिकांश कविता ‘दुखी आत्मा’ का प्रमुख अभिनेता दयाहाङ राई माथि फिचरिङ गरिएको बताइएको छ ।
क्लक वर्क कृएसनको ब्यानरमा हिमाल कडरियाको निर्माण अनि सुदिप ढकाल कार्यकारी निर्माता रहेको फिल्ममा दयाहाङ राई,आँचल शर्मा,अनुपविक्रम शाही, बुद्धि तामाङ, रेयर राईलगायत कलाकार मुख्य भूमिकामा छन ।
आलोक शुक्लाको छायांकन रहेको फिल्म भ्यालेन्टाइन्स डेको अवसरमा २ फागुनबाट प्रदर्शन हुदैछ । फिल्म आरआर फिल्मसले वितरण गर्दैछ । फिल्मको हाल सम्पादन कार्य भइरहेको छ ।