पलको आ बाट आमा २ को हङकङ अधिकार बिक्री

काठमाडौँ । आगामी दसैँ अर्थात् असोज ३० गतेबाट प्रदर्शनमा आउने फिल्म ‘आ बाट आमा २’ को हङकङ प्रदर्शन अधिकार बिक्री भएको छ। यस फिल्मको हङकङ प्रदर्शन अधिकार स्वर्णिम कम्युनिकेसन प्रा।लि।ले खरिद गरेको हो।

फिल्मका निर्देशक चन्द्र पन्तले अन्तर्राष्ट्रिय बजार अन्तर्गत हङकङको प्रदर्शन अधिकार उल्लेख्य र महँगो रकममा बिक्री भएको जानकारी दिए। उनका अनुसार सम्झौता महँगो रकममा भएको भए पनि व्यापारिक गोपनीयताका कारण आधिकारिक अङ्क भने अहिले खुलाइएको छैन।

यो फिल्म गत वर्ष प्रदर्शनमा आएर व्यावसायिक रूपमा सफल भएको फिल्म ‘आ बाट आमा’ को सिक्वेल हो। सोही कारण पनि यो फिल्म प्रदर्शनमा आउनुपूर्व नै अन्तर्राष्ट्रिय बजारमा धमाधम बिक्री भइरहेको हो।

यसअघि नै फिल्मको जापान प्रदर्शन अधिकार ‘आर एन्ड बी इन्टरटेनमेन्ट’ ले खरिद गरिसकेको छ भने अमेरिका र क्यानडाको राइट्स ‘डोको फिल्म्स’ ले महँगो रकम खर्चेर आफ्नो पक्षमा पारिसकेको छ। अमेरिका, क्यानडा, जापान र हङकङजस्ता प्रमुख देशहरूमा प्रदर्शन अधिकार बेलैमा सुरक्षित हुनुले वैदेशिक बजारमा यो फिल्मप्रति वितरक र दर्शकको उत्साह कति उच्च छ भन्ने प्रस्ट पार्छ।

आर्या इन्टरटेनमेन्ट प्रा।लि।को ब्यानरमा निर्माण भएको यस चलचित्रमा पल शाह, मलिका महत, आकाश श्रेष्ठ, रिस्ता गुरुङ, निकिता आचार्य, सबिन श्रेष्ठ, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, गजित बिष्ट, नरेन खड्का र दिलिप अखेडाको मुख्य भूमिका रहनेछ। निर्देशक पन्तकै लेखन र पटकथा रहेको यस चलचित्रको प्रोडक्सन म्यानेजर करणसिंह रसाली हुन्।