सारथी टिजरमा गिरि र निरुताको सस्पेन्स सम्बन्ध

काठमाडौं । फिल्म सम्पादक तारा थापा ‘किम्भे’ प्रस्तुतकर्ता रहेको फिल्म ‘सारथी’को टिजर सार्वजनिक भएको छ । फिल्मका निर्देशक कुमार गजुरेलको सोमबार परेको जन्मदिनको अवसर पारेर निर्माण पक्षले १ मिनेट ७ सेकेण्डको टिजर सार्वजनिक गरेको हो ।

टिजरमा काउब्वाय ह्याट, हातमा लालटिन र रहस्यमय हाउभाउका साथ जङ्गलको अँध्यारो बाटोमा हिँडिरहेका डेव्यु अभिनेता गिरि विश्वकर्मा र अभिनेत्री निरुता सिंहलाई देखाइएको छ । गिरिले निरुतालाई ‘आमा’ भनेर सम्बोधन गरेपछि फिल्मको कथावस्तुबारे दर्शकले कौतुहलता बढाएको छ । गिरीले आमा भने पनि उनीहरुको सम्बन्ध स्पष्ट खुलेको छैन ।

अनुप बरालको एक्टर्स स्टुडियोमा अभिनय प्रशिक्षण लिएका गिरि विश्वकर्मा रङ्गमञ्च हुँदै फिल्ममा डेव्यु अभिनेताका रूपमा प्रस्तुत भएका छन् । लामो समयपछि निरुता सिंह र उत्तम प्रधानलाई एउटै सिनेमामा देख्न पाउनु पनि ‘सारथी’को अर्को आकर्षण हो ।

फिल्ममा निरुता सिंह, उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, गिरि विश्वकर्मा, गायत्री जोशी, कल्पना थापा, मदन थापा, अनिता कुईकेल, कमला अर्याल, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा, सन्तोष ढकाल, विप्लव खड्का, सागर कँडेल, सुदीप नेपाल र धिरेन कार्कीको अभिनय छ ।

किम्भे प्रोडक्सन र धिरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्माण भएको फिल्मको सम्पूर्ण छायांकन म्याग्दीको गुर्जा क्षेत्रमा गरिएको हो । रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको सिनेमाका कार्यकारी निर्मातामा बेक बहादुर विश्वकर्मा र नवीन श्रेष्ठ छन् । अविनाश राई, द्वारिका श्रेष्ठ र ओमिसन थापा सह–निर्माता तथा अमिर केसी लाइन प्रोड्युसर हुन् ।

संकल्प भुजेलको छायांकन रहेको फिल्ममा राजु खतिवडा मुख्य सहायक निर्देशक तथा यमुना आचार्य र आशिष श्रेष्ठ सहायक निर्देशकका रूपमा छन् । बाबुल गिरी र प्रशान्त शिवाकोटीको संगीत रहेको फिल्ममा बाबुल गिरी, प्रशान्त शिवाकोटी र रचना रिमालको स्वर छ । आगामी मंसिर ११ गते रिलिज हुने फिल्मको वितरण आरआर फिल्मस्ले गर्नेछ ।