काठमाडौं । लेखक तथा निर्देशक रामबाबु गुरुङ ब्लकबस्टर फिल्म ‘कबड्डी’ को पाँचौं शृङ्खला ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’भोलि बुधबारदेखि दर्शकमाझ ल्याउँदैछन् । २०७१ सालदेखि सुरु भएको यो फिल्ममा काजीको प्रेमकथा पाँचौं श्रृंखलासम्म पनि जारी छ । फरक यति हो कि रामबाबुकै भनाईमा पाँचौं संस्करणमा भने काजीको प्रेमजीवन पछिको नयाँ कथा छ ।
निर्देशक गुरुङका अनुसार चौथो शृंखलामा काजीको नयाँ प्रेम जीवनको छोटो समयको रोमाञ्चकतालाई टुंग्याउने उद्देश्यले ‘द फाइनल म्याच’ को अवधारणासहित कथा तयार गरिएको थियो ।
‘तर फिल्म प्रदर्शनपछि दर्शकको प्रतिक्रियाले पात्रहरूको कथा अझ अघि बढाउन हौसला मिल्यो । चौथो शृङ्खलामा हामीले काजीको नयाँ प्रेम जीवनको छोटो समयको रोमाञ्चकतालाई टुंग्याएर द फाइनल म्याच भन्ने तयारीका साथ कथा निर्माण गरेका थियौँ,’ निर्देशक गुरुङले भने, ‘तर दर्शकले रुचाइदिनुभएपछि यसले निर्मातालाई व्यावसायिक रूपमा मात्र नभएर अन्य कुराहरूमा पनि प्रोत्साहन गर्ने रहेछ ।’
रामबाबुले पाँचौँ भाग बनाउन आफूलाई कुनै बाध्यात्मक दबाब नरहेको दाबी गरे । समय बित्दै जाँदा पात्रहरूमा आएको परिपक्वता, उनीहरूको अनुभव र अघिल्ला कथालाई अझ अगाडि लैजाने इच्छाले पाँचौँ भागको आधार तयार भएको उनको भनाइ छ ।
‘एकदेखि पाँचसम्म आउँदा पात्रको एउटा छुट्टै संसार बनिसक्यो । एकदेखि अहिलेसम्म उही पात्रले दर्शक कमायो, दर्शक सँगसँगै पात्रहरू पनि हुर्किरहेको छ,’ उनले भने, ‘यिनीहरूको कथा के होला ? मनोविज्ञान कस्तो होला ? कतिपय कुरा हामीले नै भोगेको र अनुभव गरेको कुरा हाम्रै समाज वरिपरिको कथासँग जोडिँदै जाने हो ।’
गुरुङका अनुसार अहिले पात्रहरू पहिलेको अवस्थामा छैनन् । उनीहरूको जीवनमा समय, उमेर र अनुभवले प्रभाव पारिसकेको छ । त्यसैले फिल्ममा एउटै पात्र भए पनि उसको प्रतिक्रिया र व्यवहार बदलिनु स्वाभाविक भएको उनको बुझाइ छ ।
विगतको शृङ्खलाले सर्वाधिक कमाउनेको रेकर्ड बनाए पनि व्यावसायिक रूपमा ‘कबड्डी ५’ ले नयाँ रेकर्ड कायम गर्नैपर्छ भन्ने अपेक्षा नरहेको गुरुङले बताए । तर प्रदर्शन नजिकिँदै गर्दा एक किसिमको डर भने हुने उनको अनुभव छ। दशैंमा अन्य सिक्वेल सिनेमा पनि प्रदर्शनमा आउने भएकाले त्यसको प्रभाव पर्न सक्ने भए पनि ‘कबड्डी’को आफ्नै दर्शकले साथ दिने विश्वास व्यक्त गरे ।
बासुरी फिल्म्सको प्रस्तुतिमा बनेको सिनेमामा गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)को लगानी छ । सागर राज सिनेमाका कार्यकारी निर्माता हुन् ।फिल्ममा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपीन कार्की, मिरुना मगर, सिर्जना गुरुङ र रिश्मा गुरुङ मुख्य भूमिकामा छन् । सहायक भूमिकामा पुस्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजर, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंले अभिनय गरेका छन् ।







