गौथलीबाट आशावादी अरुण र सिम्रन

काठमाडौं । फिल्म ‘गौँथली’ साउन १ गतेबाट रिलिज हुँदैछ । निर्देशक कपिल रिजालको यो फिल्ममा अरुण क्षेत्री र सिम्रन खड्का अनस्क्रिन जोडी छन् । अरुण र सिम्रन श्रीमान् र श्रीमतीको भूमिकामा छन् । अरुणले यसअघि ‘महापुरुष’ मा र सिम्रनले ‘प्रेमगन्ज’, ‘चित्रा’ र ‘बेहुली फ्रम मेघौली’ लगायतका फिल्ममा अभिनय गरिसकेकी छन् ।

केही दिनअघि यो फिल्मको गीत ‘आँखा भरी आँसु’ सार्वजनिक भएको थियो । थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर रहेको गीतमा संगीत पनि थानेश्वर स्वयंको थियो । गीतमा शब्दरचना डा। भोला रिजालको थियो ।

‘हाम्रो गीत र टिजरलाई दर्शकले रुचाइदिनु भएको छ । एकदमै राम्रो प्रतिक्रिया आइरहेको छ,’ निर्देशक रिजालले भने, ‘विषयवस्तु र अभिनयको तारिफ गर्नु भएको छ । शारीरिक समस्याले निम्त्याएको असर त्यसले मानिसको जीवनमा पर्ने प्रभावलाई रुचाइदिनु भएको छ ।’

फिल्ममा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।

डा। भोला रिजालको कथा रहेको चलचित्रको पटकथा तथा संवाद लेखनमा निर्देशक डा। कपिलसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन् ।