अक्षरा फस्टलुकमा सोलो न्यान्सी

काठमाडौँ । आगामी भदौ २६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘अक्षरा’को पहिलो लुक्स सार्वजनिक भएको छ। फिल्मको निर्माण टिमले फिल्मको प्रचारप्रसार स्वरूप पहिलो पोस्टर सार्वजनिक गरेको हो।

सार्वजनिक पोस्टरमा फिल्मकी मुख्य अभिनेत्री न्यान्सी खड्कालाई सोलो रुपमा प्रस्तुत गरिएको छ । पोस्टरमा उनलाई ढुङ्गे चौतारोमा रुखमुनि एक्लै गम्भीर तथा निराशा भावमा देख्न सकिन्छ । उनी गहिरो सोच, विरह वा गम्भीर मानसिक अवस्थामा रहेको देख्न सकिन्छ । पोस्टरको पृष्ठभूमिमा पातहरू झरेका, सुकेका वा नाङ्गा रुखहरू देखिन्छन्।

अभिनेत्री न्यान्सीले यसअघि ‘१२ गाउँ’जस्तो ब्लकबस्टर फिल्म दर्शकमाझ दिइसकेकी छन् भने अनमोल केसीको आगामी फिल्म ‘बाटुलो जुन’मा समेत काम गरेकी छन्। सन् २०१६ देखि २०२० सम्म अमेरिकाको क्यालिफोर्नियामा सञ्चार अध्ययन गरेकी न्यान्सी अमेरिकामै मोडलिङ क्षेत्रमा समेत सक्रिय थिइन्। ‘मिस नेपाल इन्टरनेसनल २०२२’को उपाधि विजेता अभिनेत्री खड्काले जापानमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।

विनय राज पौडेलको डेब्यू निर्देशनमा निर्माण भएको फिल्ममा न्यान्सी खड्काका साथमा रिस्ता बस्नेत, सुशील सिटौला, सुशील पोखरेल, पुष्कर राउत, सृष्टि खड्का, उत्तम केसी, अंशु महर्जन, गीता अधिकारी, बिरेन्द्र कुशवाहा, सुमन ज्योती न्यौपाने (ल्याङ्ग्री दादा), निशा पन्थी, सृजना अधिकारी, मोहन अधिकारी, त्रिलोचन न्यौपाने, प्रदिप धुलुङ्, बिश्वनाथ तामाङ, रबिन्द्र अधिकारी, प्रजल दुलाल र निशा कुइकेलको अभिनय छ । फिल्ममा बाल कलाकारका रुपमा रोनक खड्का र प्रीसा ढुंगानाको पनि अभिनय छ ।

सोनी थापा (ढुंगाना)को प्रस्तुति रहेको यस फिल्मको पटकथा तथा संवादमा निर्देशक पौडेललाई लेखक अभिमन्यु निरवीले साथ दिएका छन्। क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको फिल्म उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगानाले संयुक्त रूपमा निर्माण गरेका हुन्। यसका कार्यकारी निर्माता सुरज थापा काजी र सुमन ज्योती न्यौपाने रहेका छन्। फिल्म नेशनल सिने ग्रुप नेपाल प्रालिका दीपक दंगालले देशभर वितरण गर्ने जिम्मा लिएका छन्।