पेन्सन पट्टा पोस्टरमा कथा र संवेदना

काठमाडौं । अभिनेता तथा निर्देशक माओत्से गुरुङ निर्देशित फिल्म ‘पेन्सन पट्टा’ को फस्र्ट लुक सार्वजनिक गरिएको छ । असार १५ को अवसर पारेर निर्माण टिमले आगामी भदौ २६ गते प्रदर्शनमा आउने फिल्मका तीन फरक शैलीका पोस्टर सार्वजनिक गरेको हो ।

पोस्टरहरूले फिल्मको मूल कथावस्तु, पात्रहरूको जीवनयात्रा, पारिवारिक सम्बन्ध, संघर्ष र ग्रामीण परिवेशलाई कलात्मक ढंगले चित्रण गरेका छन् । पहिलो पोस्टरमा दयाहाङ राई र गौमाया गुरुङ गाउँको परिवेशमा प्रस्तुत छन् । गौमायाको काखमा रहेको पाठो र दयाहाङको भावपूर्ण अभिव्यक्तिले सरल ग्रामीण जीवन, आत्मीयता र मानवीय संवेदनालाई संकेत गर्छ ।

दोस्रो पोस्टरमा दुवै कलाकार हात समातेर झरनाको बाटो हुँदै यात्रा गरिरहेका देखिन्छन् । डोको बोकेकी गौमाया र भारीसहित अघि बढिरहेका दयाहाङको दृश्यले संघर्ष, प्रेम, सहयात्रा र जिम्मेवारीपूर्ण जीवनको अनुभूति गराउँछ । प्राकृतिक सौन्दर्यबीचको उक्त दृश्यले फिल्मको भावनात्मक पक्षलाई थप प्रभावशाली बनाएको छ ।

तेस्रो पोस्टरमा दयाहाङ सैनिक पोसाकमा प्रस्तुत छन् भने गौमाया परम्परागत गुरुङ पहिरनमा देखिएकी छन् । पृष्ठभूमिमा रहेका युवा पात्रहरूको उपस्थितिले प्रेम, प्रतीक्षा, परिवार र पुस्तान्तरणको कथालाई संकेत गरेको छ ।

माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मले आशा, संघर्ष र मानवीय संवेदनालाई केन्द्रमा राख्दै जीवनमा लक्ष्य प्राप्तिका लागि गर्नुपर्ने प्रयासको कथा प्रस्तुत गर्ने निर्देशक गुरुङले बताए ।

फिल्ममा दयाहाङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सनविक्रम राई, पुष्कर गुरुङ, पशुपति राई, स्वर्गीय सुनिल थापा, सोल गुरुङ, मनोज गुरुङ, अनुशा राई तथा लुनिभा तुलाधरललगायतको अभिनय छ ।

माओत्सेकै कथा रहेको यस फिल्मको छायांकन सुशन प्रजापति, सम्पादन केर डी. कोइच लिनुच, कलरिस्ट राजेन्द्र मोक्तान, साउन्ड डिजाइन उत्तम न्यौपाने, सिंक साउन्ड नवीन श्रेष्ठ, भिएफएक्स मनोज श्रेष्ठ र कला निर्देशन राजु याक्चाले गरेका छन् ।

मिनकोन्मे गुरुङ (यूके), भोजबहादुर गुरुङ (यूके), माया गुरुङ (हङकङ) र सपना गुरुङ निर्माता रहेको फिल्ममा डी.बी. गुरुङ प्रोडक्सन म्यानेजर छन्। फिल्मको वितरण आरआर फिल्मस्ले लिएको छ ।