काठमाडौं । नेपाली समाजको एक शताब्दीअघिको जीवन, सामाजिक संरचना र जातीय विभेदका यथार्थलाई पर्दामा उतार्ने उद्देश्यसहित निर्माण गरिएको नयाँ टेलिसिरिज ‘यो कथा होइन’ को औपचारिक घोषणा तथा प्रोमो सार्वजनिक गरिएको छ।
राष्ट्रिय लोक सन्चारकर्मी नेपालको आयोजनामा सिरिजको घोषणा र पहिलो प्रोमो सार्वजनिक गरिएको हो। कार्यक्रममा अभिनेता मदनकृष्ण श्रेष्ठले नेपाली सिरिज क्षेत्रमा श्रीप्रसाद थापाको योगदानको प्रशंसा गर्दै उनले निर्माण गर्ने सामग्रीप्रति आफू सधैं आशावादी रहने बताए। ‘शिर्षकमै यो कथा होइन भनिएको छ, पक्कै कथा नभएर यो एक वास्तविक कुरा हो भन्ने लाग्छ । म यसको पहिलो भाग हेर्न आतुर छु’, उनले भने ।
सिरिजका प्रमुख कलाकार रवि गिरीले आफू पनि सिरिजको महत्वपूर्ण पात्र रहेको उल्लेख गर्दै निर्माण टोलीले निकै मेहनतका साथ काम गरेको बताए। राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमले आफ्नो संस्थाको आयोजनामा यस्तो सिर्जनात्मक कार्यक्रम गर्न पाउँदा गर्व लागेको बताए।
सिरिजका लेखक, निर्देशक तथा मुख्य अभिनेता श्रीप्रसाद थापाले धेरै समयपछि आफ्नै कथा लेखन र निर्देशनमा नयाँ सिर्जना लिएर आएको जानकारी दिए। उनका अनुसार ‘यो कथा होइन’ केवल मनोरञ्जनका लागि बनाइएको सिरिज नभई नेपाली समाजको इतिहास र यथार्थलाई उजागर गर्ने प्रयास हो।
सिरिजमा छायांकन सागर खड्का, घनश्याम पोखरेल, शिवशरण न्यौपाने र रोशन पौडेलले गरेका छन् भने भिडियो सम्पादन अशोक चौधरी र रोशन पौडेलको रहेको छ। सह–निर्देशन सन्देश लामिछाने र दीप्त प्रकाश अधिकारीले गरेका छन् भने निर्माण नियन्त्रकको जिम्मेवारी उज्ज्वल खड्काले सम्हालेका छन्।
सिरिजमा श्रीप्रसाद थापा, रवि गिरी, रोशनी सापकोटा, जानुका खड्का, दीपेन्द्र तिमल्सिना, शुशिला भट्टराई, मुकेश हमाल, आकृति न्यौपाने, लक्ष्मण चौलागाईं, मोति सुवेदी, गायत्री थापा, गान्दिप सुवेदी, नुशा लिङदेन, आरती बिक र ईशा सिंजालीको अभिनय रहेको छ। सिरिजको निर्माता कुमार भारती र गायत्री थापा हुन् ।
सिरिज आगामी साउन ४ गतेबाट सिरिज जिके इन्टरटेन्मेन्ट युट्युव च्यानलमार्फत प्रसारण हुनेछ ।




