बाः एक योद्धा पोस्टरमा हँसिलो र गम्भीर भाव

काठमाडौं । भदौ १९ गतेबाट प्रदशर्नमा आउने फिल्म ‘बाः एक योद्धा’को नयाँ पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले सोमबार फिल्मका मुख्य कलाकार समेटिएका दुईवटा पोस्टर सार्वजनिक गरेको हो ।

पोस्टरले फिल्म पूर्ण पारिवारिक सिनेमा रहेको झल्काएको छ । पहिलो पोस्टरमा सपरिवार बसेर तस्बिर खिचाइरहेको जस्तो देखिएको छ । जसमा दिव्यदेव र झरना थापा बसिरहेका छन् भने सुहाना थापा, सागर खनाल र सुप्रज्ञा शर्मा पछाडि उभिएका छन् ।

घरको आँगनमा तस्बिर खिचाइरहेका उनीहरू सबै हँसिलो चेहरामा छन् । भर्खरै रातो माटोले लिपपोत गरेर चिटिक्क पारिएको घरले दसैँको समयको संकेत गरिरहेको छ । साथमा कुकुर पनि छ ।

दोस्रो पोस्टरका पात्रको अनुहारमा कौतुहलता र तनाव छ । यो पोस्टरमा रहेका झरना थापा र सुहाना थापाको मुहारमा अचानक भएको अनपेक्षित घटनाले पैदा गरेको तनाव देखाएको छ । दिव्यदेव र अनिल बुढाथोकीको अनुहारमा रिस देखिन्छ भने माओत्से गुरुङको अनुहारमा भने कुटिल मुस्कान देखिएको छ ।

हरि लम्सालको निर्देशन रहेको फिल्मले नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौती नै देखाउनेछ । फिल्ममा झरना थापा, सुहाना थापा, दिव्यदेव पन्त, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापा र अनिल बुढाथोकी मुख्य भूमिकामा छन् ।

हरिकै लेखन रहेको फिल्म आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । फिल्मका निर्माता वसन्त लम्साल हुन् । वसन्तले यसअघि फिल्म ‘कर्मा’ निर्माण गरेका थिए ।

शिवराम श्रेष्ठको छायाकंन रहेको चलचित्रको मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने छन् । ‘बा स् एक योद्धा’ आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।